प्रभु बैंकले डाक्यो २२औं वार्षिक साधारण सभा, के छन् मुख्य एजेन्डा ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गतेका दिन काठमाडौं बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा बोलाएको हो । । उक्त सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र सञ्चालकहरूको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ । सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।
बीमालेख जारी भएकै ठाउँबाट दाबी फछ्र्यौट गर्नु : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमालेख जारी भएकै स्थानबाट दाबी फछ्र्यौटको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा आयोजित बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले बीमालाई बढी विश्वासिलो बनाउनका लागि सो आवश्यक रहेको उनले बताएका हुन् । ‘आर्थिक सहायताबाट समस्या समाधान नभई क्षणिक खुशी प्राप्त हुन्छ, बीमाबाट मात्र समग्र समस्याको समाधान हुन्छ, गरीबी निवारणमा सहयोग पुग्छ, दैनिक दुई कप चिया कम गरेर त्यसबाट बचत हुने रकमले बीमा गरेमा भविष्य सुनिश्चित हुन्छ, यसतर्फ सबैको ध्यान जानु आवश्यक छ,’ अध्यक्ष सिलवालले भने । सरकारबाट बीमा नियमावली स्वीकृत भएपछि नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको समग्र विकासका लागि अझै सशक्तरूपमा अगाडि बढ्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले पुनर्बीमा बापतको रकम प्राप्त नभए पनि त्यसलाई आम्दानी मानेर बीमा कम्पनीहरूले नाफा खान नपाउने बताए । अध्यक्ष सिलवालले भने- ‘प्राधिकरणबाट जारी निर्देशनहरू बीमा कम्पनीहरूले पालना गर्नुपर्छ, प्रदेश कार्यालयहरूलाई अधिकार सम्पन्न बनाउनुपर्छ, कम्पनीहरूले इनोभेशनमा लगानी गर्नुपर्छ, कम्पनीहरू कानून बाहिर गएमा प्राधिकरणले हस्तक्षेप गर्छ ।’ जनकपुर उपमहानगरपालिकाका वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्णले बीमाको पहुँच न्यून रहेको मधेश प्रदेशमा बीमाको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणका अध्यक्षले लिएको अग्रसरता सह्राहनीय रहेको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा क्षेत्रको विद्यमान अवस्था, निरीक्षण प्रतिवेदन, जोखिमांकन, संस्थागत सुशासन, सूचना प्रविधि, प्रदेश कार्यालयको भूमिका लगायतका विषयमा प्रस्तुती गर्नुका साथै कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । कार्यक्रममा सहभागीहरूले प्रदेश, शाखा तथा उपशाखा कार्यालयका गुनासाहरूको सुनुवाई नभएको, अतिरिक्त समय काम गरे वापतको पारिश्रमिक नपाएको, तालिम नदिएको, प्रदेश कार्यालयहरूमा कामको प्रकृति अनुसार शाखागत व्यवस्था नगरिएको, प्रमुख कार्यकारी अधिकृतको निकटका बाहेक अन्य कर्मचारीहरूको नौ दश वर्षसम्म पनि पदोन्नति नभएको, कर्मचारीले छोडेर जाँदा पाउनुपर्ने रकम समयमैं नपाएको, केही जीवन बीमा कम्पनीले ल्याएको वार्षिक बीमा फिर्ता योजनाबाट चार पाँच वर्षमा सरेण्डरमा गएमा ऋणात्मक हुने अवस्था रहेको, बैदेशिक म्यादी जीवन बीमामा देखिएको समस्याको समाधानका लागि वेटिंग पिरियड १८० दिनबाट कम गरी ९० दिन कायम गर्नुपर्ने देखिएको लगायतका धारणा राखेका थिए । प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा सोमबार बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुख र कर्मचारी तथा बीमा अभिकर्ताहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा मधेश प्रदेशका धनुषा, सप्तरी, सिरहा, महोत्तरी र सर्लाही जिल्लास्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुख र कर्मचारी तथा बीमा अभिकर्ताहरू लगायत गरी दुईसय जनाभन्दा बढीको सहभागिता थियो ।
आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’
काठमाडौं । सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । कम्पनीका अनुसार यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा नि: शुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन् । यसै गरी, हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरु, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षै भरी ६ हजार रुपैँया सम्मको क्यास ब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरूले पाउने छन् । आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्य पारेर सुरुवात गर्न लागिएको थप सुविधा सहितको यस प्रिमियम प्याकेजले आइएमई पेका प्रयोगकर्ताहरू लाइ सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताएका छन् । नयाँ–नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधाहरू थप्दै आइएमई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको पनि प्रमुख कार्यकारी रेग्मीको भनाइ छ ।