एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु भदौ १० गतेदेखि असोज १० गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने जनाएको छ । कम्पनीका अनुसार ५ वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिइनेछ । २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीको भनाइ छ । एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ ।
सीईओहरूको रहस्यमय बहिर्गमन, तीनै पक्ष तै चुप मै चुप
काठमाडौं । प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुनै पनि संस्थाको व्यवस्थापन प्रमुख हो । सरकारसँग तुलना गर्ने हो भने सीईओ भनेको प्रधानमन्त्रीजस्तै अधिक कार्यकारी अधिकार भएको पात्र हाे । नीति, नियम र नियामकले पनि बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई व्यापक अधिकार दिएको छ । तर, पछिल्लो समय बैंक तथा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरूको बहिर्गमन रहस्यमय बन्दै गएको छ । उनीहरूको बहिर्गमनबारे न कम्पनीहरूले प्रष्ट पारेका छन्, न छोड्ने व्यक्तिहरूले मुख नै खोलेका छन् । पछिल्लो समय हिमालयन एभेरेष्ट इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह र आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको बहिर्गमन यस्तै रहस्यमय बन्याे । गत असार १२ गते हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत शाहलाई पदबाट हटाउने निर्णय लियो । कम्पनीले १३ गतेदेखि नै शाहलाई हाजिर गर्न दिएन । शाहले आफूलाई स्पष्टीकरण सोध्ने मौका समेत नदिइ सञ्चालक समितिले पदमुक्त गरेको भन्दै साे निर्णयविरुद्ध बीमा प्राधिकरणमा निवेदन दिए । एक महिनासम्म पदमुक्त सीईओ र सञ्चालक समिति बीमा प्राधिकरणमा आफू सही भएको दाबी गर्दै आफ्नो पक्षमा नियामकीयले हस्तक्षेपका लागि लविङ गरे । अन्त्यमा, सञ्चालक समितिले गल्ती स्वीकार गर्यो र पदमुक्त सीईओ शाहलाई लाभ र सम्मानजनक बहिर्गमनको प्रस्ताव गर्यो । त्यसलाई शाहले स्वीकार गरे । उच्च स्रोतका अनुसार सञ्चालक समितिले पदमुक्त गरेको सीईओ शाहले डेढ महिनापछि राजीनामा दिए र सञ्चालक समितिले त्यसलाई स्वीकृत गर्यो । पब्लिक कम्पनीभित्र भएको यी सबै घटना गोप्य राखिएको छ । सञ्चालक समिति र शाहबीच के कस्ता विषयमा सहमति भयो र पदमुक्त गरिसकेका सीईओसँग राजीनामा पत्र लिने र सम्मानजनक बिदाई गर्ने बाटो रोजे भन्ने विषय रहस्यमय नै छ । ‘दुई पक्षबीच सहमति भएको सुनेका छौं, दुवै पक्ष बीमा प्राधिकरण आउन छोडेका छन्, यो विषय त्यत्तिकै सेलायो’ प्राधिकरणका उच्च अधिकारीले भने, ‘शाहलाई किन हटाइयो भन्ने पनि स्पष्ट छैन, पछि के-केमा सहमति भयो त्यो पनि जानकारी छैन ।’ भदौ ९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको कार्यकाल समाप्त भएको जानकारी प्राप्त भएको भन्दै कम्पनीको पत्र सार्वजनिक गर्यो । पत्रमा फुयाँलको कार्यकाल भदौ ६ गते सकिएको उल्लेख छ । पत्रको भाषाअनुसार ७ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल सकिएको जनाकारी नेप्सेलाई गराउने निणर्य लिएको देखिन्छ । यसअघि साउन २९ मा सीईओमा फुयाँल पुन: नियुक्ति भएको समाचार प्रकाशित भएका थिए । उनलाई पुर्ननियुक्तिका लागि बीमा प्राधिकरणले स्वीकृति पनि दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निणर्यानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निणर्य गरेको थियो । उक्त निणर्य स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट २०८१ श्रावण २८ गते स्वीकृति दिएको थियो । पहिला कार्यकाल थप्ने निर्णय भएको र पछि कार्यकाल समाप्त भएको समाचार प्रकाशित भएलगत्तै बीमा प्राधिकरणले कवि फुयाँलसँग टेलिफोनमा सोधखोज गरेको थियो । उक्त सम्वादमा फुयाँलले पदबाट राजीनामा दिएको बताएको प्राधिकरणका उच्च अधिकारीले विकासन्युजलाई बताए । ‘फुयाँलको दोस्रो कार्यकाल ७ गतेदेखि सुरु हुने हो । फुयाँलले नै दोस्रो कार्यकालको जिम्मेवारी लिन्न भनेको अवस्थामा कम्पनीले पहिलो कार्यकाल समाप्त भएको सूचना नियामकलाई दिनु सामान्य प्रक्रिया हो,’ प्राधिकरणका ती अधिकारीले भने । फुयाँल अर्को जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर जान लागेको भन्ने अनौपचारिक सन्देश पनि बजारमा फैलिएको छ । वास्तविकता बुझ्न फुयाँलसँग सम्पर्कको प्रयास सफल भएन । यसरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरूको बहिर्गमन हुँदा न नियामकले औपचारिक रूपमा बोलेको छ, न कम्पनीहरूले वास्तविकता खुलाएका छन्, न पद गुमाएको प्रमुख कार्यकारी अधिकृतहरूले मुख खेलेका छन् । शंकाले लंका पिर्छ भने झैं तीन पक्ष तै चुप मै चुप हुँदा कर्पोरेट क्षेत्रमा शंका र संशय बढ्दै गएको छ । यस प्रवृतिले पब्लिक कम्पनीको पारदर्शितामाथि पनि प्रश्न उठाएको छ ।
नेपाल लाइफद्वारा चेतनामुलक भिडियो सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम् जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ । ‘किनकी जीवन अमुल्य’ छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्षदेखि नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जस्तोसुकै परिस्थिति आएपनी बीमालेख सरेन्डर गर्नु हुदैन भन्ने सन्देश दिनको लागि यो भिडियो बनाएको हो । भिडियोमा जीवन र जीवन बीमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पिडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ । मुख्य पात्रको भुमिकालाई अलि पृथक तरिकाले प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई संगीत मार्फत व्यक्त गरिएको छ । काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामना सहित नेपाल लाइफले जीवन बीमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिंड्न तथा जीवन बीमा योजनालाई बिचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिंड्न समेत विशेष आग्रह गरेको छ ।