काठमाडौं । केबीएल सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ९४) ले दोस्रो बजारका लगानीकर्तालाई लक्षित गर्दै ५ करोड रुपैयाँसम्मको मार्जिन कारोबार सुविधा ल्याएको छ ।
कम्पनीले लगानीकर्ताको खरिद क्षमता बढाउँदै दोस्रो बजारमा उपलब्ध लगानीका अवसरको अधिकतम उपयोग गर्न यस्तो सुविधा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याजदरमा मार्जिन कारोबार सुविधा लिन सक्नेछन् । यो सुविधाअन्तर्गत प्रयोग गरिएको रकममा मात्र ब्याज गणना हुनेछ । स्वीकृत सीमाको सम्पूर्ण रकममा अग्रिम रूपमा ब्याज तिर्नुपर्ने छैन ।
लगानीकर्ताले वास्तविक रूपमा उपयोग गरेको रकमका आधारमा मात्रै ब्याज तिर्नुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
मार्जिन कारोबार सुविधा ८ देखि ९४ दिनसम्मका लागि लिन सकिनेछ । एक लगानीकर्ताले अधिकतम ५ करोड रुपैयाँसम्मको सुविधा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार मार्जिन कारोबार सुविधाले लगानीकर्तालाई थप वित्तीय लचकता प्रदान गर्नुका साथै सीमित पुँजीबाट दोस्रो बजारमा खरिद क्षमता बढाउन सहयोग गर्नेछ ।
बजारमा लगानीका अवसर देखिएका बेला तत्काल थप वित्तीय स्रोत परिचालन गर्न चाहने लगानीकर्ताका लागि यो सुविधा उपयोगी हुने अपेक्षा कम्पनीले गरेको छ ।