मेरो माइक्रोफाइनान्सले दियो प्रहरीलाई २० थान हेल्मेट
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त स्वयम्भू, काठमाडौंलाई सहयोग गरेको छ । संस्थाले प्रहरी वृत्त स्वयम्भूमा रहेका कुइक रेसपोन्स टीमलाई २० थान हेल्मेट, फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड र पन्जा हस्तान्तरण गरेको हो । उक्त सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहालले प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दलाई हस्तान्तरण गरेका हुन् । स्वयम्भू क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीहरूलाई चेकिङ गर्न, गस्ती गर्न तथा जोखिम व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त सहयोग गरेको जनाएको छ । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक तथा आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने संस्थाले जनाएको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५० हजारभन्दा बढी विपन्न घरपरिवारहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
नेपालमा ५८ देशको ३ खर्ब लगानी, कुन देशको कति ?
काठमाडौं । नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ मा नेपालमा ५८ देशको प्रत्यक्ष लगानी ३ खर्ब लगानी रहेको तथ्याङ्क छ । राष्ट्र बैंकका अनुसार नेपालमा ५८ देशले कुल २ खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये भारतबाट सबैभन्दा बढी १ खर्ब ३ अर्ब रुपैयाँ लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड रुपैयाँ, आयरल्याण्डबाट २२ अर्ब ६२ करोड रुपैयाँ, अष्ट्रेलियाबाट १० अर्ब ५ करोड रुपैयाँ, सिङ्गापुरबाट १८ अर्ब ८० करोड रुपैयाँ र वेष्ट इण्डिजबाट १४ अर्ब ३९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै दक्षिण कोरियाबाट १३ अर्ब ८७ करोड रुपैयाँ, अमेरिकाबाट १२ अर्ब २२ करोड रुपैयाँ, हङकङ्ग चिनबाट ७ अर्ब २३ करोड रुपैयाँ, बेलायतबाट ६ अर्ब ८५ करोड रुपैयाँ, नेदरल्याण्ड्सबाट ५ अर्ब ९३ करोड रुपैयाँ, बङ्गलादेशबाट ४ अर्ब ४९ करोड रुपैयाँ, पाकिस्तानबाट ४ अर्ब ३५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांक छ । नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ । प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत रहेको देखिन्छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ ।
नेरूडे मिर्मिरेका कर्मचारी फेरि आन्दोलित, लघुवित्तमा पुग्यो राष्ट्र बैंक
काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू पुनः आन्दोलित बनेका छन् । आन्दोलित कर्मचारीले राखेका मागहरू सम्बोधन नभएको भन्दै आज (भदौ १४ गते) देखि प्रदेश तथा कलष्टर कार्यालयहरूमा तालाबन्दी गरेका हुन् । मिर्मिरे लघुवित्त कर्मचारी संगठनका अध्यक्ष कटक बहादुर शाहले कर्मचारीका माग पुरा गर्न तत्काल वार्ताको टेबुलमा बस्न व्यवस्थापन समक्ष माग गरेका छन् । यदि वार्ताको माध्यमबाट मागहरू सम्बोधन नभए भदौ १४ गतेदेखी प्रदेश तथा कलष्टर कार्यालयहरूमा तालाबन्दी र भदौ १६ गतेदेखि केन्द्रीय कार्यालय घेराउ तथा धर्ना गर्ने र सशक्त संघर्षका कार्यक्रहरू गर्ने शाहले चेतावनी दिए । साथै विरोधका कार्यक्रमका लागी तयारी अवस्थामा रहन कर्मचारीहरूलाई आग्रह गरेका छन् । संघर्षका कार्यक्रमबाट संस्थामा पर्ने क्षतीको जिम्मेवार स्वयम लघुवित्त संस्थाको व्यवस्थापन पक्ष हुनुपर्ने उनको भनाइ छ । शाहका अनुसार आफूहरूको मनोबल खस्किने गरी पद घटुवा गरेपछि कर्मचारीहरू आन्दोलन गर्नु परेको हो । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पूर्याएर बलियो बनाएको भएपनि योगदान र खेलेको भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गरेको हुँदा आन्दोलन गर्नु परेको उनले बताए । गत असार २५ गते कर्मचारी संगठनले लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ९ बुँदे ज्ञापनपत्र बुझाउँदै साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको उनीहरूको गुनासो छ । त्यसैले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् । मर्जरपछि कर्मचारीमाथि अन्यायपुर्ण तरिकाले गरिएका सरूवा, अनावश्यक कारबाही र जिम्मेवारी हेरफेरमा भएको सौतेनि व्यवहार तुरून्तै खारेज गर्नुपर्ने, पुर्वदेखि पश्चिमसम्म कुनैपनि कर्मचारीहरूसँग सुमधुर सम्बन्ध नभएको व्यक्तिलाई कर्जा असुलि विभाग प्रमुखको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने उनीहरूले माग राखेका थिए । यस्तै विभिन्न व्यक्तिको शैक्षिक योग्यता भारतीय डुप्लीकेट रहेकाले छानबिन गरी कारबाही हुनुपर्ने, केन्द्र व्यवस्थापक र नायब पद खारेज गरी सम्पुर्ण केन्द्र व्यवस्थापक कर्मचारीहरूलाइ कनिष्ठ सहायक पदमा र नायव पदलाई हटाई माथिल्लो पदमा बढुवा गर्नुपर्ने, नियमसंगत हुनुपर्ने कर्मचारी बढुवा तुरून्त गरिनुपर्ने, विभिन्न ठाउँमा मर्ज भएका शाखाहरूका तत्कालीन शाखा प्रमुखलाई सोही शाखामा राखि मनोबल नै खस्किने गरी व्यवस्था गरेकोप्रति ध्यानार्कषण भएको र तुरून्त उहाँहरुको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था पर्यवेक्षण विभाग प्रमुख कार्यकारी निर्देशक बिमल राज खनाल नेरूडे मिर्मिरे लघुवित्त संस्थामा भएको कर्मचारी विवाद बारे नजिकबाट नियालिरहेको बताउँछन् । साथै राष्ट्र बैंकको टोलीले स्थलगत निरीक्षण गरेको हुँदा प्रतिवेदन आउन बाँकी रहेको उनले बताए । ‘हामीले आफ्नोतर्फबाट काम गरिरहेका छौं, राष्ट्र बैंकको टोलीले स्थलगत निरीक्षण २/३ दिन अगाडि सकेर आएको छ, संस्थामा के भइरहेको छ भनेर नजिकबाट हेरिरहेका छौं,’ उनले भने, ‘लघुवित्तमा भइरहेको कर्मचारी विवादको विषय राष्ट्र बैंकको नोटिसमा छ, निरीक्षण टोलीको रिपोर्ट फाइनल भइसकेपछि थाहा भइहाल्छ ।’’ उनका अनुसार कर्मचारी व्यवस्थापन काम सम्बन्धित संस्थाको रहेको उनले बताए । यदि केही समस्या परिहाल्यो भने राष्ट्र बैंकले संस्थाको सञ्चालक समिति र व्यवस्थापनलाई बोलाएर छलफल गर्ने उनको भनाइ छ । सम्बन्धित समाचार: नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलन चौंथो दिन पनि जारी, देशभरका शाखा ठप्प नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलनले उग्ररूप लिँदै, बिहानै केन्द्रीय कार्यालयमा तालाबन्दी नेरूडे मिर्मिरे प्रकरण स् कर्मचारीको आन्दोलन बल्झिदैँ, अब संगठनले नेतृत्व गर्ने नेरूडे मिर्मिरे लघुवित्तमा भाँडभैलो, देशभरिका शाखामा तालाबन्दी नेरूडे मिर्मिरे लघुवित्तमा साविक मिर्मिरेका कर्मचारी चेपुवामा, झण्डै कुटिए डीसीईओ बोहरा ! नेरुडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी (फोटो फिचरसहित)