यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया  १० र बिक्रीदर एक सय ७४ रुपैँया  ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपैँया ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया ६३ पैसा र बिक्रीदर ९७ रुपैँया ६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैँया ५९ पैसा र बिक्रीदर एक सय २ रुपैँया ४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैँया ८१ पैसा र बिक्रीदर आठ रुपैँया ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८५ पैसा र बिक्रीदर १८ रुपैँया ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८२ पैसा र बिक्रीदर ३६ रुपैँया ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैँया ९९ पैसा र बिक्रीदर चार रुपैँया, युएई दिराम एकको खरिददर ३६ रुपैँया ५५ पैसा र बिक्रीदर ३६ रुपैँया ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैँया ९३ पैसा र बिक्रीदर ३१ रुपैँया ७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ६७ पैसा र बिक्रीदर ९ रुपैँया  ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ६४ पैसा र बिक्रीदर १२ रुपैँया  ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ४२ पैसा र बिक्रीदर १९ रुपैँया ५१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २८ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया १२ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैँया ५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ६४ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैँया र बिक्रीदर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल लाइफ पाठशाला सञ्चालनमा, अब बीमा सेवा र सिकाई एउटै प्लाटफर्ममा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) सञ्चालनमा ल्याएको छ । आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण गरेका हुन् । यस प्लयाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरु थालनी गर्ने बताए । उनले निकट भविष्यमा नै बीमाको महत्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लयाटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि बताए । सोही अवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बीमा योजना अन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि आग्रह गरे । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर बीमा सेवालाई सहज, सरल चुस्त र दुरुस्त बनाउने पथमा कम्पनी लम्की रहेको बताए । कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताइन् । तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लयाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिए । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए ।

ग्लोबल आइएमईको सचेतना कार्यक्रम : विद्यार्थीले सेयरमा लगानी गरी लाभ लिनसक्ने

काठमाडौं । धितोपत्र नियमननियकायहरूको अन्तरर्राष्ट्रिय संगठनको आह्वानमा लगानीकर्ता सप्ताहको अवसरमा कार्तिक ६ गतेदेखि १२ गतेसम्म साताब्यापी विविध कार्यक्रमहरु आयोजना गरी मनाउने भएको छ । साताब्यापी उक्त कार्यक्रम मार्फत धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई लगानी शिक्षा, सचेतना, बजार विकास तथा सुधारका पक्ष लगायतका बारेमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी तिनको सशक्तिकरण गर्ने उद्देश्य लिइएको छ । योजना अनुसार नेपाल धितोपत्र बोर्ड तथा नेपाल मर्चेन्ट बैंकर्स संघको समन्वयमा ग्लोबल आइएमई क्यापिटलद्वारा चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा शुक्रबार लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा ग्लोबल आइएमई क्यापिटलको तर्फबाट कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसँग सम्बन्धित विभिन्न पक्षहरूको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका उप–मेयर सीता थापाले पूँजी बजारसँग सम्बन्धित साक्षरता कार्यक्रमले लगानीको बारेमा आधारभुत ज्ञान प्राप्त गर्ने अवसर मिलेको र सेयरमा लगानी गरेमा बढी भन्दा बढी आय आर्जन गर्न सकिने बताइन् । यस्तै, वडाध्यक्ष शिव श्रेष्ठले विद्यार्थीले यस्ता कार्यक्रमबाट सेयरको प्राथमिक बजारमा लगानी गरि अधिकतम लाभ लिनसक्ने बताए । त्यसैगरी कार्यक्रमको अध्यक्षता समेत गरेका चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक तथा श्रीकृष्ण रत्नगंगा उच्च माविका शिक्षक हरिगोपाल श्रेष्ठले यस कार्यक्रमबाट आफुले सेयरको बारेमा धैरै कुरा बुझ्न सहयोग मिलेको बताउँदै विद्यार्थी भाइबहिनीहरुलाई विभिन्न कम्पनीले निष्कासन गर्ने सेयरमा लगानी गरेमा फाइदा हुने र पढ्दै कमाउँदै गर्न सकिने धारण राखे । त्यसैगरी ग्लोबल आइएमई बैंक लि, चौताराका शाखा प्रमुख नविन श्रेष्ठले डिम्याट तथा मेरो सेयर खाता खोली पूँजी बजारमा आवद्ध हुन उपस्थित सबैमा अनुरोध गरे । कार्यक्रममा चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरू, श्रीकृष्ण रत्नगंगा उच्च माविका शिक्षक, विद्यार्थी तथा कर्मचारीहरू, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरू तथा सरोकारवाला निकायको उलेख्य सहभागिता रहेको थियो । विश्व लगानीकर्ता सप्ताहबाट धितोपत्र सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई जानकारी दिन तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि सिन्धुपाल्चोकको चौतारामा गरिएको उक्त कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।