३ महिनामा लघु बीमा कम्पनीको व्यापार साढे ४० करोड, कुनको कति ?
काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघु बीमा कम्पनीहरूले साढे ४० करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।नेपालमा हाल सञ्चालनमा रहेका ७ लघु बीमा कम्पनीहरूले ३ महिनामा ४० करोड ६९ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् । जसमध्ये जीवन बीमातर्फ २२ करोड १३ लाख र निर्जीव बीमातर्फ १८ करोड ५६ लाख रुपैयाँको व्यापार भएको छ । जीवनतर्फ सबैभन्दा धेरै व्यापार गर्नेमा गार्डियन माइक्रो लाइफ अगाडि रहेको छ । गार्डियनले ८ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकल गर्दा क्रेष्ट माइक्रोले ७ करोड ९७ लाख र लिबर्टी माइक्रोले ५ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकल गरेको छ । निर्जीवनतर्फ सबैभन्दा धेरै व्यापार नेपाल माइक्रोले गरेको छ । नेपाल माइक्रोले ५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रोटेक्टिभ माइक्रोले ४ करोड ६१ लाख, स्टार माइक्रोले ४ करोड १८ लाख र ट्रस्ट माइक्रोले ४ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
मानुषी लघुवित्तको सञ्चालक बने सिलवाल
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सीए कमलप्रसाद सिलवाल नियुक्त भएका छन् । कार्तिक १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको पदमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो । ‘उपरोक्त सम्बन्धमा यस मानुषी लघुवित्त वित्तीय संस्था सञ्चालक समितिको कार्तिक १२ गते बसेको ८७ औं बैठकको निर्णयअनुसार सीए कमलप्रसाद सिलवाललाई आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक सदस्य पदमा नियुत्ति हुनु भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं,’ नेप्सेको मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ सम्पन्न
काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सम्पन्न भएको छ । गत शुक्रबार सिन्धुपाल्चोकको चौतारमा रहेको कृष्ण रत्न माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत करिब १०० जना विद्यार्थीहरुलाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रमगरी सम्पन्न गरेको हो । उक्त कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु हो । विश्व लगानीकर्ता सप्ताह २०२४ एक हप्ता लामो, अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो । जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ । कार्यक्रममा लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।