एनवाईईएफ स्टार्टअप अवार्ड्स ४. ० को आवेदन खुला, ४ लाख जित्ने मौका

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० आयाेजनाको शुभारम्भ गरेकाे छ । यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको हो । स्टार्टअप अवार्ड्स ४.० उद्यमीहरूलाई आफ्नो व्यावसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेताहरूसँग नेटवर्क बनाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन मार्गदर्शन प्रदान गर्ने एक अद्वितीय प्लेटफर्म हो । विगतका संस्करणहरूमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा, र डेलिश डेरी जस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलताहरू हासिल गरेका छन् । प्रतियोगिता एक संरचित छनोट प्रक्रियामा आधारित हुनेछ, जसमा प्रारम्भिक चरणमा २० आशाजनक स्टार्टअपहरूको छनोट गरिने आयाेजकले जनाएकाे छ । यी स्टार्टअपहरूले सघन मार्गदर्शन, विज्ञहरूको सत्र, र व्यवसाय विकासको सहयोग प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्त्यमा डेमो डे हुनेछ, जहाँ सात जना फाइनलिस्टहरूले प्रतिष्ठित निर्णायकहरूको सामु आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्नेछन् । आवेदनहरू अहिले खुला रहेकाे र २०२४ नोभेम्बर १५ मा बन्द हुने जनाइएकाे छ । अवार्डमा सहभागी हुन चाहने स्टार्टअप कम्पनी नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । अर्थात १ सेप्टेम्बर २०१८ भन्दापछि दर्ता भएका स्टार्टअप कम्पनीहरू मात्र अवार्डका लागि योग्य हुनेछन् । यति मात्र नभएर स्टार्टअपले प्रदान गरेको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनु पर्नेछ । आवेदन फारम भर्दा सहभागीले अङ्ग्रेजी अक्षरमा मात्र विवरण उल्लेख गर्नुपर्नेछ । यदि कुनै गलत सूचना राखेको पाइएमा तत्कालै आवेदन रद्द हुने एनवाईईएफले उल्लेख गरेको छ । यसबाहेक सहभागीले भनेको समयमा भनेको स्थानमा उपस्थित हुने प्रतिबद्धता समेत जनाउनु पर्नेछ । सहभागी स्टार्टअपहरूले केके लाभ पाउँछन् ? मार्गदर्शन: अनुभवी उद्यमी र उद्योगका विज्ञहरूको सघन मार्गदर्शन नेटवर्किङ: नेपालभरिका अन्य उद्यमीहरू, लगानीकर्ता र विशेषज्ञहरूसँग नेटवर्क बनाउने मौका व्यावसायिक विकास सहयोग: स्टार्टअपलाई सशक्त र व्यावसायिक उचाइमा पुर्याउन आवश्यक सहयोग नगद पुरस्कार: उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले क्रमशः रु। ४,००,०००, २,००,०००, १,००,००० नगद पुरस्कार जित्ने अवसर पिचिङ अवसर: राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूको सामु व्यवसायिक विचार प्रस्तुत गर्ने मौका यो अवार्डले उद्यमशीलतालाई प्रोत्साहन गर्दै नेपालमा नयाँ स्टार्टअपहरूको विकास र वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । नेपाली युवा उद्यमी मञ्चले नेपाल उद्योग वाणिज्य महासङ्घबाट सन् २००३ मा आधिकारिक मान्यता पाएको थियो । मञ्चले नेपाली युवाहरूमा उद्यमशीलता विकास गर्न टक शो, मेन्टरशिप, मास्टर क्लासलगायतका कार्य गर्दै आएको छ । सन् २०१६ मा मञ्चको काठमाडौं च्याप्टर स्थापना भएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए शपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष  ढुङ्गानालाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालगायत पदाधिकारीहरूकाे उपस्थित रहेको थियो ।

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ बन्न ४ जनाको आवेदन, को-को छन् आकांक्षी ?

काठमाडाैं ।  राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ४ जनाको मात्रै आवेदन परेको छ । आवेदन दिने अन्तिम मिति कार्तिक ६ गतेसम्म ४ जनाको मात्रै आवेदन परेको कम्पनीले जनाएको छ । सीईओका लागि आवेदन दिनेहरूमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका छन् । जसमध्ये रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । चार्टर्ड एकाउण्टेन्टसमेत रहेका रिमाल विगत २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् । २०८० कार्तिकमा तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएको थियो । कम्पनीमा परिणत भएसँगै रिमालले कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् । कोइराला पनि सोही कम्पनीको बीमा विज्ञको रूपमा काम गरिसकेका व्यक्ति हुन् । उनी म्यानेजमेन्ट एशोसिएसन अफ नेपाल (म्यान)का कार्यकारी निर्देशकसमेत हुन् । उनले तत्कालीन बीमा संस्थामा बीमा विज्ञको रूपमा जोडिनुअघि तत्कालीन सूर्य लाइफमा डेपुटी म्यानेजरको रूपमा करिब ४ वर्ष काम गरेका थिए । सन् २०१६ देखि २०१९ सम्म उनी सूर्य लाइफमा थिए । २०१९ देखि २०२२ सम्म उनले तत्कालीन बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी) मा बीमा विज्ञको रूपमा काम गरे । बुद्धकाजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल ईन्स्योरेन्सको उच्च व्यवस्थापक तहका कर्मचारी हुन् । हाल उनी सर्भेअर पेशामा आवद्ध छन् । उनी तत्कालिन यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य भएर १८ महिनासम्म काम गरेका थिए । राष्ट्रिय जीवन बीमा कम्पनी(तत्कानि बीमा संस्था)को यस अघिको प्रशासक पदका लागि उनी सर्ट लिस्टमा परेका थिए । सर्ट लिष्टमा ३ जना परेका  थिए जहाँ उनकाे नाम पनि थियाे । उनीसँग विदेशी बीमा कम्पनीहरुसँग काम गरेको अनुभव पनि रहेको छ । इण्डियन इन्स्योर रिक्स म्यानेजमेन्ट एण्ड इन्स्योरेन्स ब्रोकिङ्ग सर्भिसेसको नेपालको प्रमुख भएर उनले करिब २ वर्षसम्म काम गरेका थिए । यससँगै नेपाल इन्स्योरेन्स, तत्कालिन एनबी इन्स्योरेन्समा पनि काम गरेका श्रेष्ठसँग बीमा क्षेत्रको ३० वर्ष बढीको अनुभव रहेको छ । उनले बीमा विषयमा नै एमफिल समेत गरेका छन् । उनले सुशासन र दाबीको विषयमा थेसिस गरेका छन् । इन्स्योरेन्स इन्स्टीच्यूट अफ इन्डीया (आईआईअई) बाट फेलोशिप गरेका छन् । कम्पनीले असोज १६ गते सीईओको आवेदन माग गर्दै सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार २१ दिनभित्र आवेदन दिनुपर्ने थियो ।