नेपाल लाइफको ‘स्टार अवार्ड’ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान गर्न आयोजित कार्यक्रममा १ हजार ६४ जना अभिकर्ता सम्मानित भएका छन् ।

कम्पनीले देशका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कुल २ हजार ५८१ जना उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने १ हजार ६४ जनालाई स्टार अवार्ड प्रदान गरी सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, सेल्स प्रशिक्षक किसु झा, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी तथा नेपाल लाइफ बीमक समितिका अध्यक्ष गणेश अधिकारीलगायतको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार र ग्राहकसँग सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधार भएको बताए । उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई प्राथमिकता दिएर काम गर्न आग्रह गरे ।

कम्पनीले अभिकर्ताहरूलाई समान अवसर, सम्मान र व्यावसायिक विकासको अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै उनले बीमा सेवाप्रति आम नागरिकको विश्वास बढाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले हालैका विपद्का घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे । साथै, विपद्बाट प्रभावित अभिकर्ता तथा बीमितहरूको अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि पहल भइरहेको जानकारी दिए ।

त्यस्तै, कम्पनीका नेसनल सेल्स हेड पोखरेलले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनमा अझ प्रतिबद्धता र व्यावसायिक सोचका साथ काम गर्न आग्रह गरे । उनले कम्पनीको व्यवसाय वृद्धि, ग्राहक सेवा र बीमाको पहुँच विस्तारमा अभिकर्ताहरूको योगदान महत्वपूर्ण रहेको बताए ।

पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केसीले अभिकर्तासँग सम्बन्धित ऐन, नियमावली तथा व्यावसायिक सरोकारका विषयमा सुधार गर्न संघले पहल गरिरहेको बताए । उनले सामाजिक सञ्जालमा तथ्यहीन तथा भ्रामक सामग्री सम्प्रेषण नगर्न र आफ्नो व्यावसायिक जिम्मेवारीप्रति सचेत रहन पनि आग्रह गरे ।

नेपाल लाइफ बीमक समितिका अध्यक्ष अधिकारीले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै उनीहरूको योगदानले कम्पनीको व्यावसायिक यात्रालाई थप मजबुत बनाएको बताए । उनले कम्पनीको बजार हिस्सा बढाउन सबै अभिकर्तालाई एकजुट भएर काम गर्न आग्रह गरे ।

कम्पनीका अनुसार ‘स्टार अवार्ड’ सम्मानमा मात्र सीमित नभई अभिकर्ताहरूको ज्ञान अभिवृद्धि, व्यावसायिक क्षमता विकास, प्रेरणा र अनुभव आदानप्रदान गर्ने अवसरसमेत बनेको छ । विभिन्न सहरमा आयोजित कार्यक्रमले अभिकर्ता सञ्जालसँगको सहकार्य थप मजबुत बनाउने कम्पनीको अपेक्षा छ ।

Share News