काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि चार जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ ।
अर्थ मन्त्रालयद्वारा गठित छनौट तथा सिफारिस समितिले २०८३ असोज १९ गते सूचना जारी गर्दै अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदीलाई दोस्रो चरणको मूल्याङ्कनका लागि छनोट गरिएको जनाएको छ ।
यसअघि गत साउन १२ गते प्रकाशित पदपूर्तिसम्बन्धी सूचनाअनुसार परेका ८ वटा आवेदनहरूमध्येबाट सिफारिससम्बन्धी कार्यविधि, २०८३ को दफा ६.२ बमोजिम यो संक्षिप्त सूची तयार पारिएको हो ।
छनोटमा परेका उम्मेदवारहरूको नेतृत्व क्षमता, कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम आगामी २०८३ असोज २३ गते सिंहदरबारस्थित अर्थ मन्त्रालय (सम्पर्क कोठा नम्बर ४१९) मा सञ्चालन हुनेछ ।
कार्यतालिकाअनुसार सोही दिन बिहान ७ः०० बजे अनिल राज पौडेल, बिहान ८ः०० बजे नवराज सापकोटा, साँझ ५ः३० बजे नारायण प्रसाद सापकोटा र साँझ ६ः३० बजे प्रताप सुवेदीको प्रस्तुतीकरण तथा अन्तर्वार्ता तोकिएको छ ।
संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूलाई आफूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्ता स्थलमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।
