लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यावसायिक सम्झौता

काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेड र लिजेण्ड प्रोपर्टिज प्रालिबीच सोमबार व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिज प्रालिका तर्फबाट उपाध्यक्ष पूर्णबहादुर लिम्बूले उक्त सम्झौतमा हस्ताक्षर गरी आगामी दिनमा एकअर्कालाई व्यावसायिक रूपमा सहकार्य गर्ने गरी सम्झौता गरिएको छ । उक्त सम्झौताअनुसार लिजेण्ड प्रोपर्टिज प्रालिले सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरी विभिन्न ठाउँमा व्यवस्थित एवं योजनाबद्घ रूपमा विकास गरी बिक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवासीय घरहरू खरिद गर्ने ग्राहकहरूलाई लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरूमार्फत सुलभ ब्याजदर तथा सरल प्रक्रियामार्फत आवास कर्जा उपलब्ध गराउने भएको छ । लिजेण्ड प्रोपर्टिज प्रालिले हाल नेपालको काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरी विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई ब्याग वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ६, काभ्रेपलाञ्चोकस्थित भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण गरेको छ । उक्त सामाग्रीहरु बैंकका बाग्मती प्रदेश प्रमुख प्रविनमुनि बज्राचार्यले भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयका प्रधानाध्यापक दामोदर गौतमलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो कार्यक्रममा बैंकका बनेपा शाखाका शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठ, सहायक प्रदेश प्रमुख सुनिता गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सचितानन्द केसी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगन्ज उपमहानगरपालिका– २, नेपालगन्ज, बाँकेमा अवस्थित लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका– ८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवनपरिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध–निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपकुमार देले बैंकका प्रबन्ध–निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा गरेका थिए ।