लाभांश पारित गर्न आत्मनिर्भर लघुवित्तले डाक्यो साधारण सभा
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । लघुवित्तले पुस २९ गते सोमबार दाङमा छैठौं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
एकैदिन ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट तय हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा तरलता थुप्रिएसँगै थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो १२ दिने निक्षेप संकलन उपकरणको पुस २१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
फोनपेबाट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट
काठमाडौं । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो!’ सार्वजनिक गरेको छ । जसअनुसार इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ । अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु भने ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ । यस अभियान अवधि पौष २९, २०८१ सम्म रहेको छ भने अभियानका क्रममा लक्की ड्रा मार्फत विजेताहरूको चयन गरिनेछ । जसअनुसार ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन् । यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको फोनपेले जनाएको छ । कसरी सहभागी हुने? – मोबाइल बैङ्किङ एप खोल्नुहोस्: फोनपे सम्बन्धित आफ्नो मोबाइल बैङ्किङ एप खोल्नुहोस् । – फोनपे बिल्स चयन गर्नुहोस्: एपमा “भुक्तानी” वा “बिल भुक्तानी” सेक्सनमा जानुहोस् र फोनपे बिल्स ट्याबमा क्लिक गर्नुहोस् । – इन्टरनेट बिल चयन गर्नुहोस्: “इन्टरनेट” ट्याबमा क्लिक गरी उपलब्ध इन्टरनेट सेवा प्रदायकको सूचीबाट उपयुक्त प्रदायक चयन गर्नुहोस् । – बिल विवरण प्रविष्ट गर्नुहोस्: आफ्नो खाता र बिलको सही विवरण लेख्नुहोस् । – ३ महिना वा थप भुक्तानी अवधिको चयन गर्नुहोस्: लक्की ड्रा मा सहभागी हुनका लागि अभियान अवधिमा कम्तिमा ३ महिना इन्टरनेट बिल फोनपे बिल्स मार्फत तिर्नुहोस् । – भुक्तानी पुष्टि गर्नुहोस्: सबै विवरण जाँचेर भुक्तानीको पुष्टि गर्नुहोस् ।