नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडिलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रम बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेका हुन् । बैंकले निर्माण गरिदिएको अस्थायी आवास हस्तान्तरण कार्यक्रममा नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यो परियोजना अघि बढाएको उनले बताए । नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका- १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका- १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो । कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायत उपस्थिति थिए । १७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरूप तत्काल राहत सामाग्री वितरण गर्नुका साथै अस्थायी आवास निर्माण गरिदिने घोषणा बै‌ंकले गरेको थियो ।

जीवन विकास लघुवित्तको २१.३० लाख कित्ता सेयर बिक्रीमा, मूल्य ५२५ देखि ६ सय रुपैयाँसम्म

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक समूहका सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार १२ लगानीकर्ताले २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बिक्रीकर्ता नम्बर १ देखि १२ सम्म उल्लेख गरी कोड नम्बर एदेखि एलसम्म राखेर सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ । उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन् । म्याग्दी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ता बापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।