काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणका लागि हिमालय स्पोट्र्स एचडीसँग ‘पावर्ड बाई’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ ।
यससम्बन्धी सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ । सम्झौता एनपीएलको टेलिभिजन प्रसारणसँग सम्बन्धित रहेको छ ।
यस वर्षको टी–२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग आगामी कात्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ ।
नेपालमा क्रिकेट खेल मात्र नभई साझा उत्साह, भावना र राष्ट्रिय एकताको माध्यमका रूपमा विकसित हुँदै गएको भन्दै नेपाल लाइफले एनपीएलको प्रसारण यात्रासँग सहकार्य गरेको जनाएको छ ।
देशका विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीलाई एउटै उत्साहमा जोड्ने क्रिकेटको विशेषतासँग आफ्नो ब्रान्डको भावनालाई जोड्दै यो साझेदारी गरिएको कम्पनीको भनाइ छ ।
नेपाल लाइफका लागि यो सहकार्य प्रसारण साझेदारीमा मात्र सीमित नभई खेलप्रतिको प्रेम, नेपालीबीचको आत्मीयता र खेलकुदले सिर्जना गर्ने राष्ट्रिय एकतासँग जोडिने अवसरसमेत भएको कम्पनीले जनाएको छ ।
मैदानमा विभिन्न टोलीबीच प्रतिस्पर्धा भइरहँदा टेलिभिजनमार्फत देशभरका दर्शक एउटै खेल, उत्साह र भावनामा जोडिने कम्पनीको विश्वास छ ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले खेलकुदले मानिसलाई नजिक ल्याउने, साझा खुसी सिर्जना गर्ने र एकताको भावना बलियो बनाउने भएकाले एनपीएलजस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिनु विशेष महत्वको विषय भएको बताए ।
उनले यो सहकार्यलाई नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धन, विकास र उत्थानमा सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धताको हिस्साका रूपमा लिएको बताए ।
खेलकुदले समाजमा सकारात्मक ऊर्जा, एकता र आपसी सम्बन्धलाई थप मजबुत बनाउने भएकाले यस्ता प्रसारण प्लेटफर्मसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ ।