पोखरा फाइनान्समा समस्या, स्पष्टिकरण लिने राष्ट्र बैंकको निर्णय

काठमाडौं । पोखरा फाइनान्सको वित्तीय अवस्था खराब भएको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले सुधारात्मक कारवाहीको प्रक्रिया थालेको छ । राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्ससँग स्पष्टिकरण लिने निर्णय पनि गरेको छ । राष्ट्र बैंकले प्रष्टिकरण सोधेको पत्र आफूले प्राप्त नगरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङले बताए । राष्ट्र बैंकले २०८० पुसमा फाइनान्समा स्थलगत निरीक्षण गरेको र सुधारका लागि आवश्यक निर्देशन दिएको बताउँदै राष्ट्र बैंकका निर्देशनहरू पालना भइरहेको उनले दावी गरे । फाइनान्सको खराब कर्जा बढी देखिन आएकाले कर्जा असुलीमा जोड दिन राष्ट्र बैंकले निर्देशन दिएको सीईओ गुरुङले बताए । राष्ट्र बैंकको निर्देशन पालना गर्दै कर्जा असुलीमा फाइनान्सले जोड दिँदै आएको उनको भनाइ छ । तर तथ्याङ्कमा उनले भनेजस्तो सुधार छैन, बरु फाइनान्सको वित्तीय अवस्था झन् खराब छ । ९ महिनामा फाइनान्सको खराब कर्जा २०३ प्रतिशतले वृद्धि भएको उसैले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । २०८० पुस मसान्तमा फाइनान्सको खराब कर्जा कुल कर्जाको ४.७६ प्रतिशत रहेको फाइनान्सले सार्वजनिक गरेको वित्तीय वितरणमा उल्लेख छ । २०८१ असोज मसान्तमा खराब कर्जा १४.४४ प्रतिशत पुगेको छ । ९ महिनामा खराब कर्जा विन्दुगत गणनामा ९.६८ अंकले बढेको छ भने प्रतिशत गणनामा २०३.३६ अंकले बढेको छ । फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ करोड ९० लाख घाटा खाएको छ । गत वर्ष पनि नोक्सानमा गएको फाइनान्सको सञ्चित नोक्सानी ६८ करोड रुपैयाँ नाघेको छ । फाइनान्सको पुँजी १ अर्ब ८ करोड रुपैयाँ छ । फाइनान्सको निक्षेप, कर्जा लगानी लगायतको व्यवसायिक आकार पनि सानो हुँदै गएको छ । ‘संस्थाको सुशासन पनि खराब देखियो, वित्तीय अवस्था पनि खराब छ । अब राष्ट्र बैंकले आवश्यक निर्णय लिँदै जानेछ, ’ राष्ट्र बैंकका उच्च अधिकारीले भने । स्थलगत निरीक्षण भएको ११ महिनापछि मात्र फाइनान्सको रिपोर्ट राष्ट्र बैंकको सञ्चालक समितिमा पेश भएपछि राष्ट्र बैंकभित्रै पनि यति ढिला रिपोर्ट पेश हुनुको कारणबारे सोधखोज भएको छ । ‘फाइनान्सको अवस्था खराब पाइयो । एक वर्षअघि भन्दा अहिले के कति सुधार भयो ? सुधारका लागि के के प्रयास भएका छन् ? लगायतको विषयमा स्पष्टिकरण सोध्ने निर्णय भएको छ,’ स्रोतले भन्यो । कोरोना महामारीपछि गण्डकी प्रदेशको पर्यटकीय गतिविधि सुस्त भएको र पर्यटन व्यवसायीहरूले कर्जा तिर्न नसक्दा फाइनान्समा समस्या उत्पन्न भएको सीईओ गुरुङले बताए । ‘पछिल्लो समय हामी अलि दवावमा नै परेका छौं । नयाँ व्यवसाय विस्तारमा भन्दा कर्जा कर्जा असुलीमा जोड दिइरहेका छौं, ’ उनले भने । यता नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइसकेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । के हुन्छ कर्णाली डेभलपमेन्ट बैंकमा रहेको निक्षेपकर्ताको ५.२१ अर्ब ? सेयर कारोबार पनि रोक्का

सिटिजन्स बैंकद्वारा सुदूरपश्चिमका विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिका १ विच्छयाँमा अवस्थित विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो । विद्यालयमा अयोजित एक कार्यक्रमका बीच इसिडी र कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत २११ विद्यार्थीहरुलाई बैंकले स्वेटर प्रदान गरेको हो । विकट हिमाली भेगका न्यून आय आर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महिनामा न्यानो स्वेटर उपलब्ध गराउनाले उनीहरुको पठनपाठनमा सहजता आउने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड ‘ सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

बजारमा अत्यधिक तरलता भएपछि ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ७० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको माघ ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।