मुक्त्तिनाथ विकास बैंकले ल्यायो एनिभर्सरी बोनाञ्जा योजना, १० हजार रुपैयाँसम्म पाइने

काठमाडौं । मुक्त्तिनाथ विकास बैंकले १९ औं वर्ष प्रवेश गरेको अवसरमा डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्त्तिनाथ एनिभर्सरी बोनाञ्जा योजना ल्याएको छ । पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकमध्येबाट २ जनाले लक्की ड्रमार्फत मोबाइल फोन पाउनेछन् । बैंकका अनुसार यसैगरी १०० रुपैयाँ वा सोभन्दा बढीको टपअप तथा डेटा प्याक लिने ग्राहकमध्ये दैनिक १९ जनाले लक्की ड्रमार्फत १०० रुपैयाँ टपअप प्राप्त गर्नेछन् । पुस १९ गते सुरु भएको यो योजना माघ १९ गतेसम्म रहने छ । यस्तै बैंकको मोबाइल बैंकिङमार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ ग्राहकले लक्की ड्रमार्फत भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । पुस १९ गते सुरु भएको यो योजना माघ १९ गतेसम्म रहने बैंकले जनाएको छ । बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआरमार्फत प्राप्त नगरेका मर्चेन्टले यस अवधिमा कारोबार संख्या ३ र २०० रुपैयाँसम्मको कारोबार रकम क्यूआरमार्फत प्राप्त गरेमा ५ जनाले लक्की डमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २०० रुपैयाँसम्मको रकम क्यूआरमार्फत प्राप्त गरेमा ५ जनाले लक्की ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । पुस १९ गते सुरु भएको यो योजना पुस २५ गतेसम्म लागू हुनेछ । मोबाइल बैंकिङ्गमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने ग्राहकमध्ये दैनिक १ जनालाई लक्की ड्रमार्फत १,००० रुपैयाँ क्यास ब्याक र क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकमध्येबाट दैनिक २ जनालाई लक्की ड्रमार्फत ५०० रुपैयाँका दरले क्यास व्याक प्रदान गरिने बैंकले जनाएको छ । पुस १९ गते सुरु भएको यो योजना पुस २५ गतेसम्म लागू हुनेछ ।

बीमा कम्पनीहरूले वित्तीय विवरणमा छुट्टै राख्दैनन् ‘सर्भेयर फी’को हिसाब

काठमाडौं । मानिसहरूले कुनै पनि भैपरि आउने दुर्घटनाबाट हुने धनको क्षतिको सुरक्षानका लागि बीमा गरेका हुन्छन् । मानिसहरूले विपदबाट हुने क्षतिबाट बच्न आफ्नो घर, भवन, सवारीसाधन, स्टक सामग्रीहरूलगायतको बीमा गर्ने गर्दछन् । कुनै पनि कारणले बीमा गरिएको सम्पत्तिमा क्षति पुगे त्यसका लागि अध्ययन गर्न बीमा कम्पनीहरूले सर्भेयरलाई खटाउँछन् । बीमा कम्पनीले सर्भेयरलाई उक्त क्षतिको मूल्याङ्कन गर्न खटाउने गर्छन् । सर्भेयरले गरेको मूल्याङ्कनका आधारमा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन्छन् । सर्भेयरले सर्भे गर्न घटनाको प्रकृतिअनुसार समय लगाउने गर्दछन् । सामान्य एउटा मोटरसाइकल आगलागी भएको सर्भे गर्दा ४/५ दिनमा नै उनीहरूले सर्भे गरिसक्छन् भने कुनै १० अर्बको हाइड्रोपावरमा बाढी पसेर क्षति भयो भने त्यसका लागि महिनौ‌ंमम समय लाग्छ । सर्भेयरले यसरी ससानादेखि ठूल्लठूला क्षतिको मूल्याङ्कन गरेवापत बीमा कम्पनीहरूले उनीहरूलाई निश्चित शुल्क (सर्भेयर्स फी) भुक्तानी गर्ने गर्दछन् । सर्भेयरहरूले सर्भे रिपोर्टमा उल्लेख भएको आधारमा बीमा कम्पनीले बीमितलाई दाबी भुक्तानी दिने गर्छन् । र सोही रकमको आधारमा सर्भे शुल्क लिने गर्दछन् । यसर्थ कुनैपनि बीमा कम्पनीले एक वर्षमा सर्भेयर्स फीवापत ठूलो रकम खर्च गरेको हुन्छ । तर, त्यसरी भुक्तानी गरेको रकम कम्पनीहरुले आफ्नो वित्तीय विवरणमा उल्लेख भने गरेका हुँदैनन् । जीवन बीमा कम्पनीहरूले बीमा अभिकर्तालाई दिएको कमिसन स्पष्टरूपमा विवरणमा उल्लेख गरेपनि निर्जीवन कम्पनीहरूले भने सर्भेयरलाई भुक्तानी गरेको रकम उल्लेख नै गर्दैनन् । कम्पनीहरूले उक्त रकम दाबी भुक्तानीमा समावेश गरेर विवरण सार्वजनिक गर्ने गरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले सर्भेयर फी कम्पनीहरूले दाबी भुक्तानी शीर्षकमा नै समावेश गरेर सार्वजनिक गर्ने गरेको बताए । तर, यसले गर्दा बीमितले पाएको र कम्पनीले भुक्तानी गरेको रकममा ठूलो भिन्नता आउने गर्दछ । मानौं कुनै एउटा घरको आगलागीवापत बीमा कम्पनीले १ करोड क्षति दिने निधो गर्‍यो । त्यसमा ५ लाख रुपैयाँ सर्भेयर फी पनि सो रकममा जोड्दा दाबी भुक्तानी १ करोड ५ लाख रुपैयाँ हुने भयो । बीमितले १ करोड रुपैयाँ पाँउछ तर कम्पनीले १ करोड ५ लाख रुपैयाँ दिएको देखिन्छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका वाग्लेले बीमितलाई दाबी भुक्तानी दिलाउने प्रक्रियाअन्तर्गतकै कार्यभित्र सर्भे पर्ने भएकाले सर्भे फीलाई दाबी भुक्तानीमा नै समावेश गरिएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय अभ्यास पनि यही रहेको भन्दै विश्वको बजारअनुसार नेपालको पनि बीमा बजार अगाडि बढिरहेकाले नेपालमा पनि सर्भेयरको फी दाबीमा नै समावेश गरिएको पनि स्पष्ट पारे । यसका साथै उपनिर्देशक वाग्लेले विश्वमा एउटै फर्म्याटकाे लेखामान होस् भन्ने मान्यता रहेकाले र एनएफआरएसमा पनि सोहीअनुसार सर्भेयर फीका लागि छुट्टै शीर्षक सृजना नगरिएको जनाए । उनका अनुसार बीमा कम्पनीहरूले दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनीहरूसँग विवरण पेश गर्ने गर्दछन् । यसरी विवरण पेश गर्दा उनीहरूले सर्भेयर फीलाई पनि दाबी शीर्षक नै उल्लेख गरेर पेश गर्दछन् । र सोहीअनुसार पुनर्बीमा कम्पनीहरूले दाबी भुक्तानीवापतको रकम भुक्तान गर्दछ । यस सन्दर्भमा यदि सर्भेयर फीलाई दाबी शीर्षकमा नराख्ने हो भने सर्भेयर फीवापतको रकम पुनर्बीमा कम्पनीसँग दाबी गर्न पाइँदैन । यसले गर्दा पनि सर्भेयर फीलाई दाबी शीर्षकमा नै राखिएको हुनसक्ने उनको अनुमान छ । उनले भने, ‘यसमा पहिलादेखि नै त्यस्तै व्यवस्था छ । सोही व्यवस्थाअनुसार हामीले काम गरेका छौं ।’ यदि सर्भेयर फीलाई दाबी भुक्तानी शीर्षकमा देखाउँदा केही समस्या आएको खण्डमा त्यसलाई प्राधिकरणले सच्याउन पनि सक्ने उनको भनाइ छ । यस्तै, निर्जीवन बीमाका विज्ञ नूरप्रकाश प्रधानले पनि सर्भेयरको फी दाबी भुक्तानी शीर्षकमा उल्लेख गर्नु विश्वव्यापी मान्यता भएको बताए । उनले भने, ‘विश्वका देशहरूमा सर्भेयर फीलाई दाबी भुक्तानी शीर्षकमा नै उल्लेख गरेर विवरण सार्वजनिक गर्ने चलन छ । त्यही चलन नेपालमा पनि छ ।’ तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका प्रधानका अनुसार लेखाको सिद्धान्तअनुसार नै दाबी भुक्तानी शीर्षकअन्तर्गत सर्भेयर्स फीलाई समावेश गरिएको हो । एनएफआरएसमा पनि सर्भेयर फी दाबी भुक्तानी शीर्षकमा नै समावेश हुने उनले बताए । ‘सर्भेयर फी’मा कति हुन्छ खर्च ? बीमा कम्पनीहरूले बीमितलाई दिएको दाबी भुक्तानीका आधारमा र सर्भे रिपोर्टमा उल्लेख भएको रकमका आधारमा सर्भेयरलाई शुल्क भुक्तान गर्दछन् । मोटर बीमा अन्तर्गत बीमितले पाउने दाबी भुक्तानीका आधारमा सर्भेयरले शुल्क पाउने गर्दछन् भने अन्य पोर्टफोलियोमा सर्भे रिपोर्टमा उल्लेख भएको रकमका आधारमा सर्भेयरको शुल्क भुक्तानी हुन्छ । मोटरको हकमा बीमितले ५० हजार रुपैयाँ भुक्तानी पाएको अवस्थामा सर्भेयरले २ हजार ५ सय रुपैयाँ पाउँछ । यसैगरी ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म बीमितले पाएको अवस्थामा सर्भेयर शुल्क ५ हजार रुपैयाँ पर्दछ । सोही क्रमअनुसार यदि ६० लाख रुपैयाँभन्दा धेरै भुक्तानी भएको खण्डमा ४० हजार रुपैयाँ सर्भेयर शुल्क लाग्छ । यसका साथै सर्भेयरले क्षति भएको स्थानमा जाँदा दूरीअनुसार लाग्ने शुल्क, होटलमा बसेको खर्च, फोटोग्राफवापतको खर्च, रिमाेट क्षेत्रमा गएर सर्भे गरेको खर्च आदि शीर्षकमा छुट्टै भत्ता पनि पाउँछन् । मोटरबाहेकका पोर्टफोलियोमा ५० हजार रुपैयाँसम्मको क्षति भएको रिपोर्ट आएको खण्डमा सर्भेयरले ७ हजार ५ सय, ५० हजार १ रुपैयाँदेखि १ लाख १ रुपैयाँसम्म दाबी आएको अवस्थामा ९ हजार ७५० रुपैयाँ र ३.९० प्रतिशत सर्भेयरले शुल्क पाउँछन् । सोही क्रमअनुसार १ करोड १ रुपैयाँभन्दा धेरै दाबी पेश भएको खण्डमा सर्भेयरले २ लाख ३५ हजार १७० रुपैयाँ र दाबी पेश भएको रकमको ०.६५ प्रतिशत रकम सर्भेयरले शुल्क पाउँछ । यसका साथै, होटल खर्च, फिल्ड भिजिट, फोटोग्राफलगायतको भत्ता छँदै छ ।

फोनपे बिजनेस एपमा ‘अन–रिक्वेस्ट विदड्रअल’ सुविधा

काठमाडौं । फोनपे नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन–रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ । यस सुविधाले व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्ने अवसर दिन्छ । अब व्यापारीहरूले आफ्नो बैंक खातामा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् र यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नु पर्दैन । फोनपेले यो सुविधा ल्याउनको उद्देश्य व्यापारीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिनु हो, जसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुनेछ । व्यापारीहरूले आपूर्तिकर्ताहरूलाई भुक्तानी गर्न कर्मचारीहरूको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन् । र यो सुविधा फोनेपे बिजनेस एपमा उपलब्ध छ । तत्काल नगद निकासी : व्यापारीहरूले आफूले चाहेको समयमा आफ्नो फोनेपे बिजनेस एप प्रयोग गरी नगद तुरुन्त आफ्नो बैंक खातामा निकाल्न सक्नेछन् । यस सुविधाले नगदको प्रवाहलाई तत्काल र अनुकूलनीय बनाउँछ, जसले व्यापारीको दैनिक कार्यलाई सहज बनाउँछ । स्वचालित निकासी : यदि व्यापारीले आफ्नो नगद अन–रिक्वेस्ट विदड्रअल नगरेको खण्डमा, रकम स्वचालित रूपमा निर्धारित समय अनुसार बैंक खातामा स्थानान्तरण हुनेछ । यसले व्यापारीलाई आफ्नो नगद प्रवाहमा निरन्तरता र पारदर्शिता सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ । शुल्क बिना नगद निकासी : व्यापारीहरूले अब कुनै अतिरिक्त शुल्क नलागी आफ्नो नगद तुरुन्तै निकाल्न सक्नेछन्, जसले व्यापारका खर्चहरू घटाउँछ र तिनीहरूको वित्तीय व्यवस्थापनलाई सजिलो र प्रभावकारी बनाउँछ । यो सुविधा सक्रिय गरेपछि ग्राहकले आवश्यक परेको जुनसुकै समयमा आफ्नो नगद कुनै अतिरिक्त शुल्क बिना नै तुरुन्तै आफ्नो बैंक खातामा निकासी गर्न सक्नेछन् । फोनपेको निःशुल्क अन–रिक्वेस्ट विदड्रअल सुविधाले व्यवसायीहरूलाई कुनै पनि समय नगद तुरुन्त आफ्नो बैंक खातामा निकासी गर्नको अवसर प्रदान गर्दछ । यसले व्यवसायीहरूको नगद प्रवाहमा अधिक लचिलोपन र नियन्त्रण ल्याउँछ, जसले गर्दा उनीहरू आफ्ना व्यापारिक निर्णयहरू छिटो र प्रभावकारी बनाउन सक्षम हुने बताइएको छ ।