नेपाल माइक्रो इन्स्योरेन्स र मन्जुश्री फाइनान्सबीच व्यवसाय विस्तार गर्ने सम्झौता
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र मन्जुश्री फाइनान्सबीच व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल र फाइनान्सका सीईओ तेज राज तिमिल्सिनाले हस्ताक्षर गरे । फाइनान्सको केन्द्रीय कार्यालयमा मंगलबार सम्झौता भएको हो । कार्यक्रममा बोल्दै सीईओ रिमालले भने, ‘यो साझेदारी हाम्रो बीमा सेवाहरूलाई पहुँचयोग्य र समावेशी बनाउने यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो। मन्जुश्रीसँग सहकार्य गरेर हामी आफ्नो पहुँच विस्तार गर्न र हाम्रो समुदायका वित्तीय र बीमा आवश्यकतालाई ध्यानमा राखी नवीन उत्पादनहरू सिर्जना गर्न चाहन्छौं ।’ यस्तै, फाइनान्सका सीईओ तिमिल्सिनाले इन्स्योरेन्ससँग उक्त सम्झौता गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । सम्झौतापत्रमा हस्ताक्षरपश्चात उनले व्यापार विस्ताका लागि हातेमालो गर्दै अघि बढ्न बताए । कार्यक्रममा फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदम ठकुल्ला र इन्स्याेरेन्सका डीसीईओ अनिल राज गिरिकाे पनि उपस्थिति रहेकाे थियो । यस साझेदारीले दुवै संस्थाका ग्राहकहरूलाई फाइदा पुर्याउन विभिन्न सहकार्यपूर्ण व्यापारिक प्रयासहरू गर्ने लक्ष्य राखेको छ । साझेदारीले नयाँ व्यापार तथा अवसरहरूको खोजी, प्रक्रिया सुधार र अल्पसंख्यक जनसंख्यालाई सेवा प्रदान गर्न संयुक्त पहलहरू विकास गर्ने विश्वास लिइएको छ । यस सहकार्यले ग्रामीण र अर्धसहरी क्षेत्रमा वित्तीय र बीमा सेवाहरूमा रहेको महत्त्वपूर्ण अभावलाई सम्बोधन गर्न योगदान पुर्याउने लक्ष्य राखेको छ ।
कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता भएको छ । बैंक र नक्शालमा रहेको वात्सल्य नेचुरल आईभिएफबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा १० हजारको छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।
‘एनएमबि हाइब्रिड फण्ड एल- २’ निष्कासन गर्दै एनएमबि क्यापिटल
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले ‘एनएमबि हाइब्रिड फण्ड एल- २’ निष्कासन गर्ने भएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्डअन्तर्गत प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याउन लागेको हो । कुल निष्कासनको १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंक र १ प्रतिशत अर्थात् १२ लाख इकाइ योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटलका लागि छुट्याइने जनाइएको छ । बाँकी १० करोड २० लाख इकाइ सर्वसाधरणलाई बिक्री गरिनेछ । यो योजनाको इकाइका लागि माघ २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा फागुन ८ गतेसम्मका लागि समय थप हुने पनि जनाएकाे छ ।