फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८ प्रतिशतले घट्यो, बढ्यो निष्क्रिय कर्जा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३८.४१ प्रतिशतले नाफा घटेको हो । गत आवको दोस्रो त्रैमाससम्म संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोहि अवधिका कम्पनीको नाफा ५ करोड २३ लाख रुपैयाँमा खुम्चिएको हो । यस्तै, संस्थाको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेको छ भने खुद कमिशन आम्दानी ८६.२६ प्रतिशत घटेको छ। कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशत, सञ्चालन मुनाफा ४३.३८ प्रतिशत, प्रतिशेयर आम्दानी पनि ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा संस्थाको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा रहेको छ। संस्थाको निष्क्रिय कर्जा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।

६ महिनामा ७ अर्ब ४६ करोडको बीमा सरेण्डर, कुन कम्पनीबाट कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बढीको बीमा सरेण्डर भएको छ । चालु आवको पौष मसान्तसम्म ५४ हजार ४१४ जना बीमितले बीमा सरेण्डर गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै सरेण्डर लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालबाट भएको छ । सो कम्पनीबाट १३ हजार ९६८ जनाले बीमितले २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँको बीमा सरेण्डर गरेका हुन् । यसैगरी, नेपाल लाइफबाट १२ हजार २४१ जना बीमितले २ अर्ब २ करोड ३३ लाख रुपैयाँको बीमा सरेण्डर गरेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीबाट ७ हजार २०७ जनाले ६७ करोड ६ लाख रुपैयाँको, नेशनल लाइफबाट ३ हजार १०४ जनाले ४६ करोड ५१ लाख रुपैयाँको, मेटलाईफबाट १ हजार ७९४ जनाले १९ करोड ६६ लाख, एशियन लाइफबाट ४ हजार ४०५ जनाले ४६ करोड ८१ लाख रुपैयाँ, आईएमई लाइफबाट ९०८ जनाले ९ करोड ८६ लाख रुपैयाँ, सन नेपालबाट ३६१ जनाले ३ करोड ५२ लाख, रिलायब लाइफबाट ८६३ जनाले ५ करोड ५६ लाख रुपैयाँको र सिटिजन लाइफबाट १ हजार ३८८ जनाले ११ करोड ५८ लाख रुपैयाँको बीमा सरेण्डर गरेका छन् । यसैगरी, सूर्यज्योति लाइफबाट २ हजार ९४० जनाले ३८ करोड ९४ लाखको, सानिमा रिलायन्स लाइफबाट ९४२ जनाले १३ करोड १२ लाख, हिमालयन लाइफबाट ३ हजार ५९० जनाले ३३ करोड २३ लाख र प्रभु महालक्ष्मी लाइफबाट ७०३ जनाले ९ करोड ८२ लाख रुपैयाँको बीमा सरेण्डर गरेका हुन् ।

गरिमा विकास बैंक र एनसीएचएलबीच सहकार्य, ई-कमर्श भुक्तानी थप सहज हुँदै

काठमाडौं । गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच सम्झौता भएको छ । बैंकको डेविट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात गरिएको हो ।  उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेविट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा सुचारु गर्न सक्नेछन् जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाईन भुक्तानीको अनुभव गर्न सकिनेछ । अनलाईन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा ओटीपी जाने व्यवस्था मिलाईएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको छ ।