कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं ।  कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन पश्चात प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरे । हाल बैकिङ्ग बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रुपमा रहेको छ । पछिल्लो समय समग्र अर्थ तन्त्रका सुचकहरुमा सकरात्मक हुने संकेत देखिएकोले बैंकहरुले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु बढाउन आग्रह गरे । उक्त अवसरमा प्रमुख अतिथिबाट बैंकको नयाँ वेबसाइटको शुभारम्भ समेत भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ठ अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त  गर्दै अगाडी बढ्न आग्रह गरे । पछिल्लो समय बैकिङ्ग बजार केही चुनौती भए पनि पालना गर्नु न्युनत्तम नियमको पालना गर्दै कषि विकास बैंकले गत आ.व.मा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हितचाहने ग्राहक लगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्तगर्दै उनले बैंकको प्रशंसा गरे । त्यसैगरी बैंकले प्रकाशन गरेको ५८ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि  प्रमुख अतिथिबाट विमोचन समेत गरिएको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा स्वागतगर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको समग्र गतिविधिको समेत जानकारी दिएका थिए ।

अनलाइनबाटै कृषि बीमा गराउन ७ वटै प्रदेशमा तालिम

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमाको रियल टाइम सफ्टवेयरबारे देशव्यापी रूपमा तालिम सञ्चालन गरिरहेको छ । प्राधिकरणले कोशी प्रदेशबाट तालिम सञ्चालन गरी समाप्त गरिसकेको जनाएको छ । माघ महिनाभित्रै अन्य ६ प्रदेशमा पनि तालिम सञ्चालन गरिसक्ने कार्यतालिका रहेको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । उनका अनुसार कोशी प्रदेशमा माघ २ गतेबाट ४ गतेसम्म ३ दिने तालिम समापन भएको छ । प्राधिकरणको कोशी प्रदेश कार्यालयमा तालिम सञ्चालन भएको थियो । तालिमको पहिलो दिन बीमा कम्पनीका कर्मचारीहरू र अभिकर्ताहरूलाई दिइएको तालिममा ६० जनाको सहभागीता रहेको थियो । दोस्रो र तेस्रो दिन कृषि ज्ञान केन्द्रका कर्मचारी, महानगरका कर्मचारी, प्रदेश मन्त्रालयका कृषि तथा पशु क्षेत्रका कर्मचारीलाई दिइएको तालिममा ४० जनाको सहभागीता रहेको सूचना अधिकारी निर्मल अधिकारीले बताए । यसैगरी, आज ६ गतेदेखि सुर्खेतमा तालिम सञ्चालन सुरु भएको पनि उनले जानकारी दिए । आजदेखि ३ दिनसम्म तालिम सञ्चालन हुनेछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि बीमाको रियल टाइम सफ्टवेरको सञ्चालनमा ल्याएसँगै अनलाइनबाटै कृषि बीमा गर्नेको संख्या पनि बढदै गएको छ । गत कार्तिक ५ गते सफ्टवेयरको उद्घाटन गरिए पनि मंसिर १६ गतेदेखि पाइलट प्रोगामको रूपमा दुई वटा बीमालेखमा यो सफ्टवेयरको प्रयोग गरिएको थियो । सोही सफ्टवेयरको प्रयोग, अनलाइनबाट कसरी बीमा गर्नका लागि आवेदन दिने, दिएको आवेदनलाई कसरी भेरिफाइ गर्ने लगायतका विषय तालिममा स्पष्ट पारिने जनाइएको छ । कृषि बीमामा सफ्टवेयरको प्रयोग सुरु भएदेखि हरेक दिन १०० भन्दा धेरै किसानले बीमाका लागि अनलाइनबाटै आवेदन दिने गरेको प्राधिकरणले जनाएको छ । उक्त सफ्टवेयरको लगइन पहुँच बीमित, अभिकर्ता, बीमा कम्पनी, बीमा प्राधिकरण, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लगायतलाई हुन्छ ।

आइएमई पेमा उडान मेला : आन्तरिक हवाइ टिकटमा सबैभन्दा बढी क्यासब्याक

काठमाडौं । आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उद्देश्यका साथ ‘उडान मेला’ नामक योजना  सार्वजनिक गरेको छ । गत माघ २ गतेबाट सुरू भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरूले आन्तरिक हवाई टिकटमा तीन सय रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । योजनामा  नियमित ग्राहकहरूले ‘सेभ१००’ प्रोमोकोड राखेर एक सय रूपैयाँ क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरूले ‘फर्स्ट फ्लाइ’ प्रोमोकोड राखेर तीन सय रूपैयाँको क्यासब्याकको लाभ उठाउन सक्नेछन् । हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ‘ह्याब प्रोमोकोड?’ सोधिएको ठाउँमा यि प्रोमोकोडहरू राखेर  क्यास ब्याक प्राप्त गर्न सकिनेछ । ‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै ‘उडान मेला’ ले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।