पुँजी वृृद्धि गर्न पुनर्बीमा कम्पनीलाई एक वर्ष म्याद थप

काठमाडौं । पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी पुर्‍याउने म्याद थप भएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय सीमा थपिदिएको हो । गत पौषको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्ने समय थप गरिदिएको प्राधिकरणका अध्यक्ष मदन दाहालले जानकारी दिए । उनले एक वर्षका लागि म्याद थप गरिदिएको जानकारी दिए । उनले विकासन्युजसँग भने, ‘पुँजी वृद्धि गर्ने समय सीमा सकिन लागेको र कम्पनीहरूले हालसम्म वृद्धि नगरेकाले एक वर्ष थप गरिदिएका हौं ।’ २०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरूले एक वर्षभित्र २० अर्ब चुँक्त पुँजी पुर्‍याउनु पर्ने निर्णय गरेको थियो । प्राधिकरणले तोकेको एक वर्षको सीमा माघ १७ गते सकिँदै छ । गत वर्ष प्राधिकरणले पुँजी वृद्धिको योजना पनि पेश गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो । हिमालयन रिइस्योरेन्सले पुँजी वृद्धिको योजना पेश गरे पनि नेपाल पुनर्बीमाले पेश गर्न सकेको थिएन । नेपाल पुनर्बीमाले योजनाको मस्याैदा बनाएर अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले कुनै पनि प्रतिक्रिया नदिएपछि वृद्धिको योजना प्राधिकरणमा पेश हुन सकेको थिएन । नेपाल पुनर्बीमाका तत्कालीन अध्यक्ष ईश्वरीप्रसाद अर्यालले कम्पनीको योजना पुँजी वृद्धि गर्दै लैजाने रहेको बताएका थिए । उनले भनेका थिए, ‘हामीले पुँजी वृद्धि योजनाअनुसार नै हरेक वर्ष सेयर नै वितरण गर्दै आएका छौं । प्राधिकरणले वृद्धि गर्न निर्देशन दिनुअघिदेखि नै हाम्रो योजना वृद्धि गर्दै लैजाने नै थियो र छ ।’ हिमालयन रिले भने पुँजी पुर्‍याउन ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेका थियो । कम्पनीले प्रधिकरणको स्वीकृति बिना नै घोषणा गरेको थियो । उक्त निष्काशनबारे प्राधिकरणले हासम्म पनि स्वीकृति दिएको छैन । हाल नेपाल पुनर्बीमाको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँ रहेको छ भने हिमालयन रिको पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।

गोर्खाज फाइनान्सका संस्थापकले किनेनन् दिपेन्द्र अग्रवालको सेयर

काठमाडौं । गोर्खाज फाइनान्सका संस्थापक सेयरधनी दिपेन्द्र अग्रवालको सेयर बिक्रीमा राखिएको छ । फाइनान्सका संस्थापक सेयरधनीहरूले खरिद नगरेपछि अग्रवालको स्वामित्वमा रहेको सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । संस्थापक सेयरधनी अग्रवालले गत मंसिर १७ गते सेयर बिक्रीको लागि सञ्चालक समितिमा आवेदन दिएका थिए । सोही बमोजिम फाइनान्सले मंसिर २७ गते ४८ हजार ७७३ कित्ता सेयर बिक्रीमा राखिएको थियो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थाकलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरिएको थियो । त्यसअवधिमा कुनै पनि संस्थापकको आवेदन नपरेपछि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो । खरिद गर्न इच्छुक लगानीकर्ताले कम्पनीको उक्त सेयरमा १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

एनएलजी इन्स्योरेन्सले ३ लाख २० हजार कित्ता सेयर बेच्दै, मूल्य १ सय रुपैयाँ

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । अर्थात् कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको २९ हजार ९७७ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५ कित्ता गरी कुल ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीको सेयर माघ २० गतेदेखि बिक्री खुला भई माघ २७ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको उक्त सेयरमा लगानीकर्ताले एनएलजी इन्स्योरेन्सको विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर मूलय प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले कम्तिमा १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।