मधेश प्रदेश सरकारसँग नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा म‌गलबार बीरगञ्जमा मधेश प्रदेश सरकारसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बीमा कम्पनीहरू बीमालेख बेच्न जोड दिने र त्यसपछि वास्ता नगर्ने प्रवृत्ति छाडेर बजारको अध्ययन अनुसन्धान गरी उपयुक्त बीमालेख ल्याउनेतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए । मुख्यमन्त्री सिंहले बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० वापत खर्च गर्ने रकम प्रदेश सरकारलाई जानकारी गराएर मात्र खर्च गर्ने व्यवस्था गर्न आग्रह गर्दै त्यसो भएमा सीएसआर वापतको रकममा प्रदेश सरकार र अन्य क्षेत्रबाट समेत रकम थप गरी ठूलै कार्य गर्न सकिने बताए । उनले बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानीका समयमा कागजातहरू मिलेन भनेर झन्झट दिने गरेको गुनासाहरू आउने गरेको उल्लेख गर्दै दाबी भुक्तानीलाई सरल एवम् सहज बनाउन विशेष ध्यान दिनुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व वापतको रकम प्रादेशिक सन्तुलनका आधारमा खर्च गर्ने व्यवस्था गर्नका लागि यस सम्बन्धी निर्देशन परिमार्जन गर्न लागिएको जानकारी दिए । अध्यक्ष ओझाले वन्यजन्तु बीमालेखका सम्बन्धमा आवश्यक तथ्याङ्क सङ्कन गरेर प्रदेश सरकारसँग समेत समन्वय गरी आवश्यक निर्णय लिइने बताए । अध्यक्ष ओझाले प्राधिकरणबाट बीमा सम्बन्धी कार्यमा समन्वय गर्न र जानकारीहरू आदान–प्रदान गर्नका लागि प्रदेश सरकारको कुनै संरचना अन्तर्गत बीमा इकाई स्थापन गर्न आग्रह गरे । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव राजेश कुमार मिश्रले प्रदेशमा बीमाको विकास एवम् पहुँच विस्तारका लागि नेपाल बीमा प्राधिकरणसँग समन्वय गरेर योजनावद्ध रूपमा अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी समग्र जानकारी सहित बीमा बजारको विद्यमान अवस्था, मधेश प्रदेशमा बीमा सम्बन्धी चुनौती तथा समाधानका उपाय र बीमाको विकास एवम् पहुँच विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती दिएका थिए । कार्यक्रममा सहभागीहरूले बीमा क्षेत्रको विकासका लागि सम्बद्ध निकायहरूबीच समन्वय एवम् सहकार्य हुनुपर्ने, बीमा कम्पनीहरूले प्रदेश कार्यालयहरूलाई दाबी भुक्तानी सहितको अधिकार प्रत्यायोजन गर्नुपर्ने, दाबी भुक्तानी स्थानीयस्तरबाट नै हुने व्यवस्था गर्नुपर्ने र बजार प्रवद्र्धनमा मात्र नभई कर्मचारीहरूको तालिमका लागि समेत खर्च गर्नुपर्ने, प्रदेश श्रम मन्त्रालयको समन्वयमा बैदेशिक रोजगार बीमा सम्बन्धी कार्य गर्ने व्यवस्था गरी प्रदेशस्तरमा नै दाबी रकम पाउने व्यवस्था गर्नुपर्ने, व्यक्तिको आम्दानीलाई ध्यानमा राखेर मात्र बीमालेख बिक्री गर्नुपर्ने र बाढीबाट हुने क्षतिको रक्षावरण गर्ने किसिमले बीमालेख ल्याउनुपर्ने लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा मधेश प्रदेशका विभिन्न मन्त्रालयका पदाधिकारी, विभिन्न निकायका प्रतिनिधि, नेपाल बीमा प्राधिकरणका मधेश प्रदेश कार्यालयका कर्मचारी र बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै बीमा सर्भेयर संघ

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल, बुटवल च्याप्टरले सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । बुटवल च्याप्टरले केन्द्रीय संघको सहकार्यमा यही वैशाख २७ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको च्याप्टर प्रमुख गोविन्द लामिछानेले जानकारी दिए । उनका अनुसार अन्तरक्रिया कार्यक्रममा सम्पत्ति बीमालेखसम्बन्धीसँगै, प्री–रिस्क सर्भे, सर्भेयरका चुनौतीसम्बन्धी विविधि प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । संघले कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद् ओझालाई बोलाएको छ भने प्रस्तुतिकरणको लागि कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलाई निम्तो गरेको छ । बीमा सर्भेयर संघ, बुटवल च्याप्टरका प्रमुख गोविन्द लामिछानेले भने, ‘हामीले नियामक निकायलाई ल्याएर प्रस्तुतिकरण गर्नुको मुख्य उद्देश्य उहाँहरूले बीमक, सर्भेयर, बैंकर्सलगायतबाट आएका सल्लाह सुझावलाई  मनन गर्नुहुन्छ र त्यही सुझावलाई लिएर नीति निर्माणमा ध्यान जाओस् भनेर नै हो ।’ उनले कार्यक्रममा सर्भेयर, बीमा  कम्पनीका सिईओ, कर्मचारी, बीमित, बैंकर्स एशोसिएसन, उद्योग वाणिज्य संघका अध्यक्षहरु, नेपाल इन्जिनियरिङ एसोसिएनका प्रतिनिधिहरूलाई बोलाएको जानकारी दिए । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहने उनकाे दाबी छ । कार्यक्रममा नेपालमा सर्भेयरका चुनौती विषयमा संघका महासचिव विकास महर्जनले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । ‘प्री-रिस्क सर्भे’ विषयमा शिखर इन्स्याेरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रिजेन्टेसन दिनेछन् । कार्यक्रममा प्यानल डिस्कसन, प्रश्नोतर, छलफल कार्यक्रमसमेत राखिएको छ । 

वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड संकलन, सन नेपालले कमायो सर्वाधिक

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । ११ जीवन बीमा र ३ वटा लघु बीमा कम्पनीले २४ लाख ६८ हजार २१९ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर उक्त रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरूले चैत्र महिनामा मात्रै ७१ हजार ७२४ बीमालेख जारी गरेर ३० करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  यस अवधिमा वैदेशिक रोजगार बीमालेखबाट सन नेपाल लाइफले सर्वाधिक व्यापार गरेको छ । सन नेपालले चालु आवको ९ महिनामा ८ लाख ७९ हजार ८२९ वटा बीमालेख जारी गरी ९८ करोड ५५ लाख बीमाशुल्क संकलन गरेको छ । वैदेशिक रोजगार बीमालेखबाट धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा एशियन लाइफ इन्स्याेरेन्स रहेको छ । उक्त कम्पनीले २ लाख ३३ हजार ८४२ बीमालेख जारी गरेर ६७ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ । त्यसैगरी तेस्रोमा नेपाल लाइफ इन्स्याेरेन्स रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा कुल ५ लाख ७१ हजार ४९४ बीमालेख जारी गरेर १८ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । ९ महिनाको अवधिमा वैदेशिक रोजगार बीमालेखबाट आईएमई लाइफले २ लाख ३९ हजार ८०६ बीमालेख जारी गरी  १७ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले १५ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १२ करोड ८६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ६८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ करोड ९५ लाख रुपैयाँ, सिटिजन लाइफले ७ करोड ७५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ करोड १ लाख रुपैयाँ र हिमालयन लाइफले ५७ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।  लघु जीवन बीमातर्फ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले ९५८ बीमालेख जारी गरेर ४० लाख ८३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै गार्डियन माइक्रो लाइफले ३१ लाख ७५ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ४ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।