१० मेगावाट सौर्य परियोजना : सूचीकरण प्रक्रिया अघि बढाउँदै अर्गा भगवती

काठमाडौं । अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटल लिमिटेडबीच एक महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत अर्गा भगवतीको १० मेगावाटको नविकरणीय सौर्य ऊर्जा परियोजनालाई पूँजी बजारमा सूचीकरण गर्न आवश्यक सम्पूर्ण प्रक्रियाको परामर्श तथा व्यवस्थापन कुमारी क्यापिटलले वे टु लिस्टिङ कार्यक्रम अन्तर्गत प्रदान गर्नेछ । उक्त सम्झौता अनुसार कम्पनी कनभर्जनदेखि लिएर सार्वजनिक निष्कासन, नियामक निकायहरूसँगको समन्वय लगायतका सम्पूर्ण कार्यहरू कुमारी क्यापिटलले जिम्मा लिनेछ । अर्गा भगवतीले अर्घाखाँची जिल्लामा निर्माणाधीन १० मेगावाटको सौर्य परियोजना छोटो समयमा सम्पन्न गरी उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले वातावरणीय शुद्धता र ऊर्जा आत्मनिर्भरता सँगसँगै आर्थिक समृद्धिमा योगदान पुर्‍याउने दाबी गरेको छ । यसअघि कम्पनीले प्राइम कमर्सियल बैंक लिमिटेडमार्फत वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । सहकार्य सम्झौतामा अर्गा भगवती भेन्चर्सका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा बीच हस्ताक्षर भएको हो ।

चन्द्रागिरि भालेश्वरमा भारतका स्वामी कैलाशानंदले गरे पूजा

काठमाडौं । भारतको प्रसिद्ध निरञ्जन अखाडाका परम पूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन् । नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानंद महाराजले भालेश्वर महादेव मन्दिर पुगेर पूजा गर्दा अत्यन्तै अलौकिक अनुभूति भएको बताए । उनका अनुसार चन्द्रागिरि हिल्सको हरियाली, शान्त वातावरण र काठमाडौं उपत्यकाको मनोरम दृश्यले गहिरो आध्यात्मिक शान्ति प्रदान गरेको छ । काठमाडौं बसाइका क्रममा चन्द्रागिरि रिसोर्टमा बसेका स्वामी कैलाशानंदले चन्द्रागिरि हिल्स पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै प्राकृतिक र धार्मिक महत्त्वले भरिएको यो स्थल सबैलाई लोभ्याउने बताए । स्वामी कैलाशानंद सहितको टोलीले केबलकारमार्फत भालेश्वर महादेव मन्दिर पुग्दा यात्रा स्मरणीय बनेको प्रतिक्रिया दिएका छन् । नेपाल भ्रमणको क्रममा स्वामी कैलाशानंदले लुम्बिनी केबलकार यात्रा, वसन्तपुरस्थित कामाख्या देवी मन्दिर, रसुवाको गोसाईंकुण्ड र काठमाण्डौंको दक्षिणकाली मन्दिरमा पनि दर्शन तथा पूजा गरेका थिए । धार्मिक स्थलहरूको यो यात्रा नेपालका तीर्थ स्थलहरूको महत्व उजागर गर्दै धार्मिक तथा अध्यात्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

५०.४५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ। तेस्रो त्रैमासको अवधिमा कम्पनीले ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ९१ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, बीमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो । यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर  नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् ।