२२ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ अंकले बढेर २७ सय ०५ बिन्दुमा पुगेको हो ।  आज १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४९ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३१६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ४६ करोड रुपैयाँको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ३६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३५ करोड, गार्डियन माइक्रो लाइफको ३१ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको २८ करोड रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा सबैभन्दा धेरै बैंकिङ सेक्टर १.६८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक ०.३४, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५४, लगानी १.३७, जीवन बीमा ०.२४, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.२४, अन्य ०.३० तथा व्यापार ०.३४ प्रतिशतले बढेको छ । फाइनान्स समूह ०.३८ प्रतिशतले घटेको छ । 

स्वार्णिम वाग्ले भन्छन्–राजीतिक नेतृत्व पंगु त भएकै थियो, आर्थिक संस्था पनि कब्जा गरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले मुलुकमा कुशासन बढेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै उनले राजीतिक नेतृत्व पंगु, भ्रष्ट, निकम्मा बन्दै गएको अवस्थामा अब आर्थिक संस्था पनि कब्जामा गएको बताएका हुन् ।  सांसद वाग्लेले विचौलियाको चलखेल धेरै बढेको बताउँदै यसलाई रोक्ने गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए । सांसद् वाग्लेले भने– ‘जताततै कुशासन बढेको एफएटिएफदेखि लिएर ग्रेलिस्टहरुले नै देखाउछ, आर्थिक क्षेत्र पहिले विचौलियाहरुबाट निरपेक्ष रुपमा जोगाइएको थियो । नीतिगत चलखेल, भ्रष्टाचार, आर्थिक संस्थाहरु कब्जा गर्ने जुन देखिरहेको छ । यसलाई कसरी रोक्ने त्यता राष्ट्र बैंकले ध्यान दिनुपर्यो ।’ सांसद वाग्लेकाअनुसार राष्ट्र बैंक, सेबनहरु डुबाउने दिशातर्फ लगिएको छ, यो सुखद् होइन ।   

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा बन्द

काठमाडौं । प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा बन्द भएको छ । हालैको प्राकृतिक विपत्तिका कारण रसुवास्थित टिमुरे शाखा बुधबार सञ्चालनमा आउन नसकेको बैंकले जनाएकाे छ । बैंकले सेवाग्राहीहरूलाई असुविधा नहोस् भन्नका लागि नजिकैका अन्य शाखाहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ । साथै, सबै शाखाको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ । यस असुविधाप्रति सानिमा बैंकले ग्राहकहरूसमक्ष क्षमा मागेको छ ।