एनएमबि माईक्रोफाईनान्सको त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा
काठमाडौँ । एनएमबि माईक्रोफाईनान्स वित्तीय संस्थाले शाखा प्रवन्धक स्तरीय २ दिने त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । वैशाख २० र २१ गते दिइएको उक्त तालिममा खाडिचौर अनुगमन स्टेशन, ढल्केवर अनुगमन स्टेशन, गोपेटार अनुगमन स्टेशन र दव्रेवास अनुगमन स्टेशन अन्तगर्तका ४७ वटा शाखाका ४७ जना शाखा प्रवन्धकहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्साल, जोखिम ब्यवस्थापन विभाग प्रमुख सूर्यप्रसाद उपाध्याय, कर्जा विभाग प्रमुख चन्दनकुमार सरदार, वित्त ब्यवस्थापन विभाग प्रमुख कृष्णप्रसाद गैह्रे र अनुगमन अधिकृत चार जना क्रमशः लंकबहादुर वम, प्रकाश रावल, पुरनचन्द्र चापागाई र कृष्णप्रसाद नेपालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा शाखाको यस आर्थिक वर्ष २०७५/०७६ तेस्रो त्रैमास सम्मको प्रगति समीक्षा, आगामी आर्थिक वर्ष २०७६÷०७७ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रवन्धकको भूमिका, भाखा नाघेको कर्जा ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परीक्षण प्रणाली, अनुगमनका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिएको थियो । वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरी ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आइरहेको जनाइएको छ ।
ललितपुर जिल्ला प्रशासनमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टरसंगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ । यसैगरी, बैंकले बैशाख २२ गते डोटी जिल्लाको जोरायल गाउँपालिका-१, गैरामा १३२ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ । यसका साथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा एटिएम सेवा समेत सुरु गरेको बैंकले जनाएको छ ।
नेपाल बैंकको साधारण सभा सम्पन्न, ‘प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल’
काठमाडौँ । नेपाल बैङ्क लिमिटेडको ५९ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको गत वर्षको कारोवार समीक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिवेश, बैंकले हासिल गरेका उपलव्धि र भावी योजना सम्बन्धी प्रस्ताव पारित गरेको छ । , लेखापरीक्षकको प्रतिवेदन सहितको ०७५ असार मसान्तको वासलात, आव ०७४/०७५को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण आव ०७५/०७६का लागि लेखा परीक्षकको नियुक्ति सहितको प्रतिवेदनलाई सर्वसम्मत्तिले पारित गरेको बैंकद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ । उक्त साधारण सभामा प्रा.डा.मनोहरकृष्ण श्रेष्ठ, हरि ढकाल, रोजकुमार श्रेष्ठ, जयन्द्रमानसिंह वानिया, शिवप्रसाद पौडेल, गुणराज भट्ट, भक्तिप्रसाद उप्रेती ,चन्द्रनारायण श्रेष्ठ, डम्वरवल्लभ जोशी, अमृतनाथ रेग्मी, उद्धवप्रसाद घिमिरे लगायतका शेयरधनीहरुले डिभिडेण्ड लगायत विभिन्न विषयमा जिज्ञाशा तथा सुझाव दिएका थिए । बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले शेयरधनीको पूँजी १० अर्बबाट ३० अर्बमा अभिवृद्धि भएको र कानुनी प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल हस्तान्तरण हुने वताउँदै सभामा आएका सुझाव तथा मार्गनिर्देशनलाई बैंकले गंभीरतापूर्वक आत्मसात गर्ने वताए । सशस्त्र प्रहरी वलको हलचोक स्थित सभाकक्षमा बैंकका शेयरधनीहरु र नियामक निकायका प्रतिनिधिहरुको सहभागितामा नेपाल बैक लिमिटेडका कम्पनी सचिव केशवप्रसाद भण्डारीको सहजिकरणमा साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभामा बैंक संचालक समितिका सदस्यहरु हरिशरण पुडासैनी, दीपेन्द्रविक्रम थापा, डा.उमाकान्त सिलवाल, भरतराज वस्ती, गंगाप्रसाद ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी, सहायक प्रमुख कार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रादेशिक कार्यालय प्रमुखहरु लगायतका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।