बिग मर्जरमा एनएमबि बैंक अनिच्छुक, ‘कर्णाली र सुदूरपश्चिमका बैंक पाए फेरि लिन्छौं’
काठमाडौं । बजारमा हल्ला चलेजस्तो ठूला बैंकहरुको मर्जर (बिग मर्जर) प्रति एनएमबि बैंक अनिच्छुक देखिएको छ । एनएमबिले त्यस्तो मर्जरका लागि कुनै योजना नबनाएको बरु क्षेत्रीय उपस्थिति बलियो बनाउन बरु क्षेत्रीय विकास बैंकहरुसँग थप मर्जरमा जान चाहेको एनएमबि बैंकले जनाएको हो । एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्यानले बजारमा महामर्जरको चर्चा भए पनि त्यसका लागि आफूहरु इच्छुक नरहेको बताएका हुन् । ‘बजारमा अहिले ठूला बैंकहरुबीच मर्जर हुने हल्ला चलेको छ, त्यो पछिको कुरा हो, त्यसबारे हाम्रो कुनै प्लान छैन, तर हामीले यस्तै (ओमसँगको मर्जरजस्तै) मर्जरको आवश्यकता देखेका छौं । साथै, उनले एनएमबि बैंकले ४/५ ओटा बैंकसँग मर्जर सम्पन्न गरिसकेको भन्दै प्रत्येक मर्जरले आफूहरुलाई क्षेत्रीय रुपमा सशक्त बनाउन सघाएको बताए । पूर्वमा हामीले पाथिभरा विकास बैंकसँग मर्ज गर्यौं, प्रदेश ५ मा भृकुटी विकासलाई मर्ज गरेर सो प्रदेशमा बलियो भयौं । क्लिन इनर्जी डेभलपमेन्ट बैंकसँगको मर्जरले नर्वेको एफएमओ बैंकसँगको सहकार्य अघि बढायो, यसैको कारण हामी विदेशी ऋण ल्याउने पहिलो र हालसम्मको एकमात्रै बैंक बन्न सक्यौं ।’ उनले भने । ओम डेभलपमेन्ट बैंकसँगको मर्जरले आफूहरुलाई प्रदेश ४ मा सशक्त बैंक बन्ने आधार तयार पारेको भन्दै उनले बाँकी प्रदेशहरुमा पनि उपयुक्त रणनीतिक साझेदार खोज्ने रणनीति रहेको बताए । ‘हामीलाई प्रदेश ६ र प्रदेश ७ मा थप सशक्त हुनुछ, त्यसका लागि शाखा विस्तार गर्ने वा कुनै संस्थासँग मर्जर गर्ने विकल्प हुन्छ, हामी उपयुक्त साझेदार पाए सहकार्य गछौं ।’ अध्यक्ष गोल्यानले भने । उनले एनएमबि बैंकले विदेशबाट फर्केकाहरुलाई नेपालमै उद्यमशील बन्न आफूहरुले लगानी गर्ने र कृषि क्षेत्रमा थप लगानी बढाउने घोषणा समेत गरेका थिए । उनले मर्जर प्रक्रिया विवाहजस्तै भएको भन्दै यो सम्पन्न गर्नको लागि दुवै परिवारले कडा मेहनत गर्नुपर्ने समेत बताए । ‘सुरुका दिनहरुमा केही अप्ठ्यारा पनि आउन सक्छन्, मिलेर अघि बढौं ।’ उनले भने ।
नेपाल बङ्गलादेश बैंकले मृतकको परिवारलाई दियो एक लाख ३० हजार रुपैयाँ
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले न्यूरोड शाखाका ग्राहक स्वर्गीय विदुर देउलाको परिवारलाई एक लाख ३० हजार २४८ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच बीमा दावी बराबरको सो रकम दुर्घटनामा परी निधन भएका देउला मृतक निजको हकवाला श्रीमती हरीशोभा मर्हजनलाई दिएको हो । साथै, यस बैंकमा खाता खोल्दा खातावालाको दुर्घटनामा परी मृत्यु भएमा खातामा रहेको रकमको दोब्बर, बढीमा पाँच लाख रुपैयाँसम्मको बीमा हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ । हाल बैंकले आफ्नो ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ७२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।
कुवेतमा पनि ‘मेगा रेमीट’को सेवा, सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनीसँग सम्झौता
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमीट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमीट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको हो । अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । अल मुल्ला एक्सचेन्जका ८५ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै, अलमुल्लाको मोबाइल एपमार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ । ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको जनाएको छ ।