सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको १५.४८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको सो मात्रा अर्थात १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । सोमबार बसेको कम्पनी संचालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको बोनस दिने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने लाभांश कर भने सेयरधनी आफैले व्यहोर्नु पर्ने छ । संचालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृति दिई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस पाउने छन् ।

मंगलबारको नेप्से सूचक निलाम्मे, तथ्याङ्क नदेखिनुमा यस्तो छ कारण

काठमाडौं । मंगलबारको नेप्से परिसूचक निलाम्मे देखिएको छ । बजार नियमित समयमै खुला भएपनि कुनै पनि तथ्याङ्क अपडेट नभएकाले परिसूचक निलाम्मे देखिएको हो । बिजुलीको पोलमा आगलागि भएको कारण डाटा अपडेट गर्न नसकेकाले नेप्सेको साइटमा असर परेको हुन सक्ने एक स्रोतले जनाएको छ । सोही कारण नेप्सेको बिन्दु, प्रतिशत जस्ता कुनै पनि तथ्याङ्क अपडेट भएको छैन । उक्त साइटमा हिजो सोमबार २ बजेर ५९ मिनेट पछि कुनै पनि डाटाहरु अपडेट भएका छैनन् । ‘साइटमा समस्या देखिए पनि सेयर कारोबार भने टीएमएस प्रणालीबाट भइरहेको छ ।’ नेप्सेका सीईओ चन्द्रसिंह साउदले विकासन्युजसँग भने ।

नेपाल टेलिकमको नाफा १ अर्ब ८७ कराेडले घट्यो

काठमाडौं । सर्वाधिक बजार पुँजीकरण भएको बहुसंख्यक सरकारी लगानी रहेको नेपाल टेलिकमको नाफामा करिब २ अर्बले गिरावट आएको छ । अघिल्लो वर्षको ९ महिनामा रहेको ११ अर्ब ८५ करोड ६४ लाख रुपैंया नाफाबाट घटेर ९ अर्ब ९८ करोड रुपैंयामा झरेको छ । यो भनेको करिब १ अर्ब ८७ करोड रुपैंयाको गिरावट हो । उक्त नाफाको गिरावटमा टेलिकमको कोर बिजिनेसमा भएको गिरावट कारकको रुपमा रहेको छ । अघिल्लो वर्ष ९ महिनामा यो आम्दानी २९ अर्ब ३९ करोड थियो तर यो वर्षको सोही समयमा आम्दानी घटेर २७ अर्ब ५० करोडमा झरेको छ । अन्य आम्दानी भने २३ करोडले बढाएर ४ अर्ब ६९ करोड पुर्याएको छ । आम्दानी घटेको टेलिकमले कर्मचारी तथा अन्य प्रशासनिक खर्चलाई यो वर्ष प्रभावकारी बनाएर त्यस्ता खर्चहरुको वृद्धि भने रोकेको छ । टेलिकमले कमाएको नाफामा आधारमा प्रतिशेयर आम्दानी ८८.७५ रुपैंया हुँदा मूल्य आम्दानी अनुपात ८.९९ गुणा छ ।