महोत्तरीको रामगोपालपुरमा नेशनल माइक्रोफाइनान्सको शाखा बिस्तार
काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ रामगोपालपुर बजारमा नयाँ शाखा बिस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन समारोहमा रामगोपालपुर नगरपालिकाका मेयर अशोककुमार मण्डल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.शाखा कार्यालय रामगोपालपुर समुह नं २७ खोपी महिला समूह अध्यक्ष रामदाई देवी र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लि.केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको उपस्थितिमा रहेको थियो । उक्त कार्यक्रममा रामगोपालपुर न.पा. वडा नं ५ को वडाध्यक्ष जितेन्द्रकुमार चौधरी, वडा नं ४ का कारी कमख्या महतो, वडा नं ५ को वडासचिव राजकुमार महतो, इलाका प्रहरी रामगोपालपुरका इन्चार्ज त्रिभुवन साह, जानकी इंगलिस बोर्डिङका प्रअ नागेन्द्रकुमार साहको उपस्थिति थियो । त्यसैगरी, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लि.शाखा कार्यालय बिन्धीको प्रमुख रामलोचन यादव, शाखा कार्यालय जलेश्वरको शाखा प्रमुख संजयकुमार यादव, शाखा कार्यालय हरीपुर्वाको शाखा प्रमुख भोगेन्द्रकुमार यादवसाथै समाजसेवी, राजनीतिक प्रतिनिनि, अभिभावक, ग्राहक, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
शाइन रेसुङ्गा र भार्गव विकास बैंक मर्ज हुँदै, ‘राष्ट्रियस्तरको विकास बैंक बन्ने’
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र भार्गव विकास बैंक लिमिटेड मर्ज हुने भएका छन् । हालै पूर्णिमा विकास बैंक लिमिटेडलाई प्राप्ती गरेको शाइन रेसुङ्गा र भार्गवबीच संस्था प्राप्ति सम्बन्धी बैशाख ३१ गते प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको तर्फवाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र भार्गव विकास बैंक लिमिटेडका तर्फवाट सञ्चालक समितिका अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गरेका छन् । शाइन रेसुङ्गा रुपन्देही, अर्घाखांची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ्ग, प्यूठान, बाग्लुङ्ग र चितवन गरी १० जिल्लामा कार्यक्षेत्र भएको “ख” वर्गको बिकास बैंकको रुपमा विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । त्यसैगरी भार्गव विकास बैंकको ५ जिल्ला कार्यक्षेत्र भएकोमा हाल बाँके, बर्दिया र दाङ्ग जिल्लामा शाखा कार्यालयहरु रहेका छन् । शाइन रेसुङ्गाले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट बैशाख १६ गतेमात्रै सैद्धान्तिक सहमति प्राप्त गरी सकेको छ । पछिल्लो पटक शाइन रेसुङ्गा र भार्गवबीच संस्था प्राप्ति पछि राष्ट्रिय स्तरको विकास बैंक बन्ने हुँदा कारोबारको दायरा, बजार उपस्थिति, प्रतिस्पर्धात्मक क्षमताको बृद्धि र मुनाफामा सकारात्मक प्रभाव पर्ने जनाइएको छ । प्राप्ति पछिको वित्तीय संस्थाको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र संस्थाको केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहने भएको छ । सञ्चालक समितिको अध्यक्षमा हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ नै कायम रहने बताइएको छ । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका बहालवाला प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नै कायम रहने तथा भार्गव विकास बैंक लिमिटेडका बहालवाला प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी नायव कार्यकारी प्रमुख रहने सहमति भएको छ । २०७५ चैत्र मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा ३ वटा वित्तीय संस्थाको अवस्था यस्तो देखिन्छ:
हिमाल दोलखाले ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने, बोर्डले दियो स्वीकृति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका बासिन्दालाई १६ लाख कित्ता साधारण शेयर बिक्री गर्नेछ । दोस्रो चरणमा ६२ लाख कित्ता साधारण शेयर आम सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीले कूल ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । केयर रेटिङ नेपाल लिमिटेडले गरेको वित्तीय विश्लेषणमा ग्रेड चार प्राप्त गरेको छ । कम्पनीले निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत् आयोजना र आठ मेगावाट क्षमताको माई साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजना इलाममा अवस्थित छ । बोर्डले हालसम्म विभिन्न २५ कम्पनीलाई रु सात अर्ब २४ करोड चार लाख १६ हजार ८०० बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिइसकेको छ ।