ग्लोबल आइएमईका ग्राहकलाई बि. एण्ड सी. हस्पिटलमा ५० प्रतिशतसम्म छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बिर्तामोड, झापाबीच सोमबार स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका जनसम्पर्क अधिकृत प्रोमिश गिरी र ग्लोबल आइएमई बैंक बिर्तामोड शाखाका शाखा प्रबन्धक पवनकुमार पौडेलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, बिर्तामोड, झापामा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउने छन् ।

मेटलाईफ नेपालको ग्राहक सेवा केन्द्र उद्घाटन

काठमाडौँ । मेटलाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दाले मेटलाईफ नेपालको मुख्य कार्यालय पुल्चोक स्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन व्यवस्थित वान कस्टमर प्लेस (ओसिपि)को उद्घाटन गरेकी छिन् । उक्त अवसरमा रेबेकाले नेपालमा नयाँ बीमा सेवा तथा डिजिटिल अभियान भित्र्याई अग्रणी बीमा कम्पनीको रुपमा मेटलाईफ राम्रो काम गरेको बताइन् । रेवेकासँगै नेपाल, बंगलादेश तथा म्यानमारका चेयरम्यान एम.नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम. अलाउद्दिन अहमदपनि उक्त कार्यक्रम सहभागी भएका थिए । ओसिपि ग्राहकहरुलाई अझै व्यवस्थितरुपमा सेवाहरु उपलब्ध हुने स्थान हो, जसमा प्रिमियम भुक्तानी, परिपक्व भएको बीमा दावी, बीमालेख समर्पण, ऋण तथा विमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुन्छ । अमेरिकमा स्थापित अमेरिक लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ ।

नेपाल एसबीआईका ग्राहक पैसा झिक्न बैंक जानै नपर्ने, ‘खल्तीबाट हुन्छ भुक्तानी’

काठमाडौँ । नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगो र खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदीले राजधानीमा एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा हस्ताक्षर गर्न आयोजित समारोहमा नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागर र खल्तीका डाइरेक्टर ध्रुब अधिकारीको समेत उपस्थिति रहेको थियो । सम्झौता अनुसार अब एसबीआई बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने–हामी नेपाल एसबीआई बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब नेपाल एसबीआई बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नु पर्दैन । त्यसैगरी, नेपाल एसबीआई बैंकका सीईओ तथा म्यानेजिङ डाइरेक्टर अनुकूल भटनागरले प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका र ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्ने बताए ।