सहकारीमा लाग्ने कर समान बनाउन माग

काठमाडौं । सहकारीकर्मीहरुले सहकारीलाई करमा विभेद गरेको गुनासो गरेका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा भएको ‘सहकारी ऐन र विभेदकारी कर’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बचत सहकारीलाई कर छुट दिई उत्पादनशील क्षेत्रमा लागेका सहकारीलाई कर छुट नदिएको गुनासो गरेका हुन् । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेलले सहकारी ऐन सहकारीमैत्री नभएको बताए । सहकारी ऐन संशोधन गरी सहकारीमैत्री बनाउन कार्यदलले काम गरिरहेको उनको भनाइ छ । सहकारीले वित्तीय अनुशासन पालना गर्न कन्जुस्याई गर्न नहुने बताए । सहकारी नियमावलीले धेरै कोषको परिकल्पना गरेकाले सदस्यलाई नाफा नआउने अवस्था आएको बताए । नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारीले बचत तथा ऋण मात्र कारोबार गरेर नहुने बताए । सहकारी क्षेत्रमा पुँजी भित्रिन नदिने चलखेल भएको उनको भनाइ छ । उनले सन्दर्भ ब्याजदर र स्प्रेडदर निर्धारणमा जटिलता भएको भन्दै नियमक निकायले अंकुश लगाउन खोजेको आरोप लगाए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीका कमजोरी हटाउन सबै लाग्नुपर्ने बताए । ‘राज्य सहकारीमैत्री छैन्,’उनले भने । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले नियतबश बहुउद्देश्यीय सहकारी बन्द गराउन खोजिएको बताए । ‘सहकारीलाई बचतमा जान वाध्य पारिएको छ’ उनले भने,‘यसले सहकारीमार्फत आर्थिक संमृद्विमा समस्या पर्न सक्छ ।’ काठमाडौं जिल्ला बचत संघ –कास्कुन)का सचिव शालिकराम पुडासैनीले सहकारीमा विकराल स्थिति भएको भन्दै सुद्विकरण अभियान चलाउन आवश्यक भएको बताए । सहकारीले नियत खराब राखेर सदस्यको सम्पत्ति लिलाम गर्ने गरेको बताए । ‘विभागकै कर्मचारीले लिलामीको ढाँचा तयार गरिदिन्छन्’ उनले भने । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले सरकारले सहकारीलाई विभेद गरेको आरोप लगाए । उत्पादन सहकारीलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा सरकारले बहुउद्देश्यीयलाई बचतमा जान वाध्य पारेको उनको भनाइ छ ।

नेपाल लाइफलाई ३ रुपैयाँ जितेपछि एलआईसी र मेटलाइफबीच घम्साघम्सी, बीमा समिति भन्छ-‘स्वच्छ प्रतिस्पर्धा होस्’

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई बजारका अरु कम्पनीले भन्दा उच्च दरको बोनस दिएको विषयलाई प्रचारप्रसार र ब्राण्डिङको विषय बनाएपछि तत्काल अरु कम्पनीहरुले असन्तुष्टि जनाए । नयाँ कम्पनीको तुलनामा पुराना कम्पनीको बीमा बोनस दर उच्च हुने गर्दछ । अभिकर्ताहरुले बीमितलाई आकर्षित गर्न कम्पनीको अन्य बलिया पक्षको साथै बोनस दर पनि देखाउने गर्छन । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना विज्ञापनमा सर्वाधिक बोनस दर प्रतिहजार ६५ देखि ८२ रुपैयाँसम्म उल्लेख गर्दा प्रतिस्पर्धी कम्पनीले निको मानेनन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)नेपालका तत्कालिन प्रमुख कार्यकारी अधिकृत पीआर मिश्रले देशविकाससँगमा अन्तरवार्तामा भनेका थिए–‘बीमा बोनसको लागि गर्ने होइन । सम्भावित जोखिम न्यूनिकरण गर्न र भविष्यको लागि बचन गर्न बीमा गरिन्छ । बोनस त सानो कम्पोनेन्ट तथा सहायक पक्ष मात्र हो ।’ पीआर मिश्र आफ्नो कार्यकाल सकिएर भारत फर्किए । हाल उनको स्थानमा लक्ष्मीप्रसाद दास आएका छन् । उनी नेपाल आएलगत्तै एलआईसीले आफ्ना विज्ञापनमा उच्चतम् बोनस दर राख्यो । समयले मिश्रलाई साथ दिएन, दासलाई दियो । मिश्रको कार्यकालमा बीमा बोनस दरमा एलआईसी जहिले पनि दोस्रो वा तेस्रो स्थानमा बस्यो । दास आउँदा एलआईसीको बोसन रेट प्रति हजार ६६ देखि ८५ रुपैयाँ पुग्यो । गत चैतसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक बोनस दरलाई प्राथमिकता दिएर बनाएको विज्ञापन पत्रिका, टेलिभिजन, अनलाईनमा प्रचार प्रसार गर्दै थियो । नेपाल लाइफको भन्दा ३ रुपैयाँ बोनस दर बढी भएलगत्तै नेपाल लाइफको शैलीलाई एनआईसीले कपी गर्यो । सर्वाधिक बोनस दर आफ्नो भएको भन्दै एनआईसीले पत्रिका, अनलाईन, टेलिभिजनमा प्रचार प्रसार अभियान थाल्यो । नेपाल लाइफ मौन बस्यो । तर एनआईसीले आफ्ना प्रवद्र्धनात्मक अभियानमा लामो समय ‘सर्वाधिक बोनस दर’ भनेर भन्ने मौका पाएन । एलआईसीले सार्वाधिक बोनस दरको स्वाद दुई महिना पनि लिन नपाउँदै मेटालाईफले झड्का दियो । मेटलाईफले शिक्षा संरक्षण योजना अन्तरगतको बीमा पोलिसीमा ८५ रुपैयाँ बोनस दर घोषणा गर्यो । अहिले अधिकतम बोनस दर ८५ रुपैयाँ मेटलाइफ र एलआईसी दुबैको छ । पछिल्लो समय मेटलाइफले सर्वाधिक बोनस दर आफ्नो भनेर दावी गर्दा एलआईसी नेपाल मौन बसेको छ । ‘समान बोनस दर भएपछि हामी मौन बसेका छौं, मेटलाइफले पनि प्रोफेशनालिजम देखाउनुपर्छ’ एलआईसी नेपालका उच्च कर्मचारीले भने । यो विषयमा मेटलाइफ मौन नबस्ने हो भने दुई कम्पनीबीच घम्साघम्सी वा कर्पोरेट वार पर्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । ‘बीमितलाई जति धेरै बोनस दिन सक्यो त्यति राम्रो हो । यो कुरा हामीले पहिला भन्दा अरुले निको मानेनन् । तर अहिले सबैले यसको महत्व बुझेका छन्’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा भन्छन्–‘हिजो नेपाल लाइफले जे गरेको थियो, त्यो आज मार्केट ट्रेन बनेको छ ।’ भ्रमपूर्ण प्रचार जीवन बीमा कम्पनीहरुले दिने बोनस दर बीमा लेखअनुसार फरक फरक हुन्छ । कुनै बीमा पोलिसको बोनस दर कम हुन्छ भने कुनै बीमा पोलिसीको बोनस दर बढी हुन्छ । उच्चतम बोनस दर भएका बीमा पोलिसीहरु २१ देखि ३० वर्ष अवधिका हुन्छन् । यस्तो बीमा पोलिसी ज्यादै कम विक्छन् । ‘९५ प्रतिशतभन्दा बढी बीमा पोलिसी २० वर्षभन्दा कम अवधिका हुन्छन् । जुन बीमा पोसिलीमा ८२/८५ प्रतिशत बोनस छ, त्यस्ता पोलिसी नगण्य रुपमा बिक्री भएको हुन्छ’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । ‘बोनस दर बारे सर्वसाधारणलाई भ्रमित गर्ने खालको प्रचार बीमा कम्पनीहरुले गरेको छन् । यस्तो प्रचार प्रसारले बीमा क्षेत्रको बदनाम हुनसक्छ’ उनले चिन्ता व्यक्त गरे । कम्पनीहरुले आफूले गरेको राम्रो कामको प्रचार गर्ने अभ्यास संसार नै भएको, बीमा समितिले बोनस दर स्वीकृत गरेपछि बीमितले जानकारी पाउने गरी सूचना प्रकाशित गर्न समेत निर्देशन दिने गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । तर बीमा कम्पनीहरुले आफ्नो बोनस दरलाई प्राथमिकतामा राखेर बीमाको बजारीकरण राम्रो नभएको उनलको भनाई छ । समान बोनस दर भएपछि कुनै एउटाले ‘म उत्कृष्ट’ भन्न नसुहाउने उनको भनाई छ । ‘अहिले बीमा कम्पनीहरुबीच बोनस दरमा प्रतिस्पर्धा भइरहेको छ । यो राम्रो होइन । वास्तवमा प्रतिष्पर्धा विजेनमा हुनुपर्ने हो’ पौडेलले भने ।

राष्ट्रिय बाणिज्य बैंकबाट सिटी एक्सप्रेसको रेमिटेन्स भुक्तानी पाइने

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटेन्स राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जेठ ६ गते एक कार्यक्रमका बीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष(ट्र्ेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरे ।