नेपाल राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन, दिनसमेत पाइनेछ ।ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा कर लाग्नेछ । बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । घटीमा रु पचास हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु पचास हजारले भाग गर्दा विशेष भाग जाने अङ्कमा खरीद गर्न सकिनेछ ।
कपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रभु बैंक लि. ले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा शुक्रबारदेखि चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले शाखा उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकको चन्द्रौटा शाखा कार्यालयबाटस्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा पाउने छन् ।
झापा अर्जुनधारामा सिभिल बैंक शाखा बिस्तार, ७४ पुग्यो शाखा संख्या
काठमाडौँ । सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालन गरेको छ । सो शाखाको अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले उद्घाटन गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर राना मगरद्वारा “अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र”का बालबालिकाहरुलाई स्कुल पोशाक समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बैंकका प्रमुख माईक्रो बैकिङ युवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्व उद्योगी, व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । सिभिल बैंकको अर्जूनधारा शाखासहित कूल शाखा संख्या ७४ पुगेकोे बैंकले जनाएको छ ।