सिटिजन्स बैंकबाट प्राइम लाइफको बीमा सेवा पाइने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवाहरु लिनसक्ने छन् । उक्त सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
असार ६ देखि १२ गतेसम्म देवः विकास बैंकको बुक क्लोज हुने
काठमाडौँ । असार ६ गतेदेखि १२ गतेसम्म देवः विकास बैंक लिमिटेडको शेयरधनी दर्ता किताबमा दाखिला खारेज बन्द(बुक क्लोज) हुने भएको छ । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले बाह्रौँ साधारण सभा गर्ने तथा बोनश शेयर वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमा असार ५ गतेसम्म शेयर कारोबार भई प्रचलित नियमानुसारको समयावधि भित्र बैंकको शेयर रजिष्ट्रार एनआईबीएल एस क्पापिटल लिमा शेयर धनी किताब दाखिल खारेज नामसारी भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने र बोनश शेयर प्राप्त गर्न योग्य हुने कम्पनी सचिव सागर ताम्राकारले जनाएका छन् ।
विराटनगर र धरानमा एनआईसी एशियाको नयाँ शाखा बिस्तार
काठमाडौँ । एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा दुई नयाँ शाखा कार्यालय सोमबार उद्घाटन गरेको छ । मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले एक समारोहका बीच उद्घाटन गरे । यसैगरी, सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकस्थित बुद्ध चोक शाखाको बैंकका सञ्चालक विनोदकुमार प्याकुरेलले उद्घाटन गरेका हुन् ।