१५ प्रतिशत नगद लाभांश दिने नेपाल एग्रो लघुवित्तको घोषणा

काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालका समितिको साउन ३२ गते साँझ बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम रु. ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि मात्र नगद लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव तेजेन्द्र शर्मा लम्सालले जनाएका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुरु गर्यो लगानी, करुवा सेती हाइड्रोपावरमा ४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह

काठमाडौँ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट लगानी शुरु गरेको छ । बैंकले शुरुवाती रुपमा आफ्नो अगुवाई तथा हिमालयन बैंक लिमिटेडको सहअगुवाई र सानिमा बैंक लिमिटेडको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानीको शुरुवात गरेको हो । कुल परियोजना लागत रु. ५ अर्व ८० करोड रुपैयाँ रहेको उक्त परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण समेत गरी रु. ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाह हुनेछ । देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवम् आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने बैंकले जनाएको छ ।

सानिमा लाइफले ८ करोड ९१ लाख नाफा कमायो, अघिल्लो आव भन्दा २ करोड ५८ लाख बृद्धि

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण आइतबार सार्वजनिक भएको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा वृद्धि गरेको छ । आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा ६ करोड ३३ लाख ७३ हजार रुपैयाँ रहेको थियो भने आव २०७५÷७६ मा ८ करोड ९१ लाख ७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा कम्पनीको जगेडा कोषमा ६ करोड १५ लाख ७३ हजार रुयैयाँ रहेको छ । आर्थिक बर्ष २०७५/७६ को अन्त्यमा भने कम्पनीको जगेडा कोषमा १४ करोड ४३ लाख ४४ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै, जीवन बीमा कोषमा आव २०७४/७५ मा ५ करोड ११ लाख ६२ हजार तथा आव २०७५/७६ मा २२ करोड २८ लाख २६ हजार रुपैयाँ रहेको देखिन्छ । आर्थिक बर्ष २०७४/७५ मा कम्पनीको आम्दानी ११ करोड ५३ लाख ७० हजार रुपैयाँ थियो भने आव २०७५/७६ मा ११ करोड ६३ लाख ६१ हजार रुपैयाँ छ । विमाङ्कीय मूल्याङ्कन र सो पश्चात आउने प्रतिफलले सेयर आम्दानी तथा नेटवर्थ सबैमा परिवर्तन हुने तथा नयाँ बोनश दर कायम हुने कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।