यातायात व्यवस्था कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ । मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।
सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गरिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए । आव २०७४/७५ मा कम्पनीले रु. १६ करोड २२ लाख १५हजार ७ सय ३४ रुपैयाँ खुद नाफा हासिल गर्न सफल भएको छ । यसअघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।