रिलायन्सको साधारण सभाले पारित गर्यो ६३ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने प्रस्ताव
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रबार दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाले साधारण सभामा आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो सभाले सञ्चालक समितिको आव २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, आव २०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर (आइपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७४ मंसिर १ गतेदेखि जीवन बीमा व्यवसाय संचालन गर्दै आएको छ । हाल ८८ वटा शाखा/उपशाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ । कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको सेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको अध्यक्षमा केडिया सहित अन्य संचालकहरुमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी र सुन्दरप्रसाद कडेल रहेका छन् ।
कृषि सहकारी भक्तपुरद्वारा ‘खाद्यान्न प्याकेज’ सार्वजनिक
भक्तपुर । शिलादेवी कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ताका लागि खाद्यान प्याकेज सार्वजनिक गरेको छ । उक्त संस्थाको नेतृत्वमा भक्तपुरका चार सहकारी संस्थाका सदस्यलाई बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न उपलब्ध गराउने गरी ल्याइएको खाद्य प्याकेज आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । गुण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गतिशील बचत तथा ऋण सहकारी संस्था, चापा ख्वाल बहुउदेश्ययी सहकारी संस्था लिमिटेडका सदस्यका लागि खाद्य प्याकेज ल्याइएको उक्त लिमिटेडका प्रबन्ध निर्देशक गोकुल बनले जानकारी दिएका छन् । सहकारीका सदस्यले एकमुष्ट रूपमा रु १५ हजार बुझाएपछि सहकारीले एक महिनाका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ । सो अनुसार एक सदस्यलाई सोना मन्सुली चामल २० केजी, मासको दाल एक केजी, मुसुरोको दाल एक केजी, सोयाविन तेल डेढ लिटर, नून एक प्याकेट, जिरा, खुर्सानी र बेसार २०० ग्राम प्याकेज स्वरूप उपलब्ध गराइने उनले बताएका हुन् । यसरी, सहकारीले दिने खाद्य प्याकेजमा अहिलेको बजार मूल्यअनुसार वार्षिक रु २१ हजार ४५३ पर्ने भए पनि सहकारीले भने आफ्ना सदस्यलाई रु १५ हजारमै उपलब्ध गराउने भएको हो । पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक बनले भने, “बजारमा आउने खाद्यान्न तीन पटकसम्म व्यापारीहरुको नाफा पार गरेर मात्रै उपभोक्ताकोमा पुग्ने हुँदा मङ्हगो हुन्छ, हामीले छ महिना बजार सर्वेक्षण गरेर सिधैँ उत्पादकसँग खाद्यान्न ल्याई सदस्यलाई दिँदा वार्षिक बजार मूल्यभन्दा रु छ हजार ४५३ सस्तोमा दिन सक्ने भयौं, त्यसैले यो खाद्य प्याकेज ल्याएका हौं ।” उनले यो प्याकेज स्वेच्छिक भएकाले सबै सदस्यका लागि अनिवार्य नभएको र प्याकेज लिएर बीचमा छाड्न चाहनेलाई बाँकी रकम फिर्ता गरिने बताए । प्याकेजमा गुणस्तरीय खाद्यान्न मात्रै वितरण गरिने जानकारी दिँदै प्रबन्ध निर्देशक वनले यस वर्ष परीक्षणका रुपमा १० हजार सदस्यलाई खाद्यान्न उपलब्ध गराइने लक्ष्य लिइएको जानकारी दिएका छन् । गुण बचतका प्रबन्ध निर्देशक प्रबन्ध निर्देशक राजु सुवालले यस वर्ष परीक्षणका रूपमा सञ्चालन गरे पनि आगामी वर्ष चामलदेखि सबै खाद्यान्नहरु कृषि सहकारीले नै उत्पादन गर्ने योजना रहेको जानकारी दिएका छन् । उनले आफ्ना सदस्यलाई भक्तपुरको जगाती, खरिपाटी, वागिश्वरी, सुडाल र दुवाकोटबाट पनि खाद्यान्न वितरण गरिने बताए । रासस
एनआईसी एशियाले कमायो ३ अर्ब ५ करोड, नाफा १२९ प्रतिशतले बृद्धि
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । उक्त बैंकको वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक देखिएको छ । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् रु ४ अर्ब १५ करोडले वृद्धि गरी रु ९ अर्ब ५१ करोड आर्जन गर्न सफल भएको छ । सोही अवधिमा बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् रु.२ अर्ब ७५ करोडले वृद्धि भई रु.६ अर्ब ६९ करोड आर्जन गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालन मुनाफामा वार्षिक विन्दुगत आधारमा १३९ प्रतिशत अर्थात् रु.२ अर्ब ६६ करोडले वृद्धि गरी रु.४ अर्ब ५८ करोड आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १२९ प्रतिशत अर्थात् रु. १ अर्ब ७२ करोडको वृद्धि सहित रु. ३ अर्ब ५ करोड आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. १ अर्ब ३३ करोड रहेको थियो । बैंकलेसमीक्षा आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २७ प्रतिशत अर्थात् रु. ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार रु. २१७ अर्ब ७० करोड पुर्याउन सफल भएको छ । जस अन्तर्गत कुल कर्जातर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २५ प्रतिशत अर्थात् रु. २९ अर्ब ५४ करोडको वृद्धिसहित रु. १५० अर्ब तथा निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत अर्थात् रु. २९ अर्ब ३६ करोडको वृद्धिसहित रु.१८० अर्ब ५८ करोड पुर्याउन सफल भएको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई रु. ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम वित्तीय विवरणमा उल्लेख छ ।