बैंकास्योरेन्सकाे नाममा भएका सबै सम्झौता खारेज, नयाँ सम्झाैता गर्न पनि बन्देज
काठमाडौं । बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थाहरुबीच भएका सबै प्रकारका बैंकास्योरेन्स सम्झौताहरु खारेज भएका छन् । बीमा समितिले बुधबार एक पत्र जारी गर्दै अब कुनै पनि कम्पनीले त्यस्ता सम्झौताहरु गर्न नपाउने भन्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हाे । समितिले गत मंसिर २२ गतेदेखि लागू गरेको “बीमकले सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन, २०७६” सँगै यस अघि बैंकास्योरेन्सको नाममा भएका सबै प्रकारका सम्झौता खारेज गरेको हो । समितिले कुनै संस्थासँग सहकार्यमा बीमा व्यवसाय गर्ने सम्झौता भएको भए आजकै दिनबाट उक्त सम्झौता भंग गर्न बीमा कम्पनीलाई निर्देशन दिएको हो । साथै, उक्त सम्झौता भंग गरी समितिले जारी गरेको उक्त मार्गदर्शन लागु हुने गरी सम्झौता गराउन समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बीमा कम्पनीलाई निर्देशन दिएका छन् ।
गण्डकी विकास बैंकले एकैदिन खोल्यो तीन नयाँ शाखा
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले आजदेखि थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जुम्लाको खलंगा शाखाको उद्घाटन गरेको छ भने साथै, पोखराको बाझापाटन र काठमाडौंको मैतिदेवीको शाखाबाट वित्तीय कारोबारको शुर गरेको छ । यससँगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोवार उपलब्ध हुनेछ । जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन सिंह कठायत र बैंकका सञ्चालक नारायण बहादुर बानियाले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा अध्यक्ष कठायतले जुम्लावासीले पक्कै पनि गण्डकी विकास बैंकका सेवा सुविधाको लाभ लिने विश्वास गरेका छन् ।
सगरमाथा इन्स्योरेन्सको चरिकोट शाखामा उद्योग वाणिज्य संघको तालाबन्दी
काठमाडौं । चरिकोट उद्योग वाणिज्य संघले सगरमाथा इन्स्योरेन्स कम्पनीको शाखामा ताला लगाएको छ । संघले इन्स्योरेन्सको दाबी भुक्तानी सम्बन्धि विवाद सुल्झाउन नसकेपछि तालाबन्दी गरेको हो । चरिकोट उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले इन्स्योरेन्स कम्पनीले समयमा पैसा बुझाउनु पर्ने बताए । कम्पनीले बीमितहरूलाई मर्का पर्दै आएकाले ताला लगाउँन बाध्य भएको जानकारी दिए । ‘१ करोड २५ लाखको दाबी बीमा नपाएका कारण ताला लगाएका हौं,’ उनले भने ‘तामाकोशी–भिरकोटको करिब ७ किमी सडकको ९० लाख दाबी पर्दा कम्पनीले ३० लाख रुपैयाँ मात्र भुक्तान गर्ने तयारी गरेको संघले बतायो । सो रकम इन्योरेन्स कम्पनीले २ वर्ष देखि भुक्तानी गरेको छैन । बीमा गराएको अवस्थामा समेत (नोक्लेम) दाबी नै नपरेको भन्दै बीमा कम्पनीलेधम्की दिने गरेको चरिकोट उद्योग वाणिज्य संघले दाबी गरेको छ । २ दिनदेखि ताला लागेको १ करोड २५ लाख करीब दाबी छ । इन्स्योरेन्स कम्पनीले समयमै दाबी भुक्तानी गर्नु पर्ने कुरा सही हो । तर, कम्पनीमा आएको गडबढीको कारण बीमा कम्पनीमा ताला लगाउनु कतिको जायज हो यो विषय अर्को पक्ष हो । कानुनी रुपमा अघि बढ्दा बीमित बीमक दुबैलाई फाइदा हुने पाइन्छ । इस्योरेन्स कम्पनीले छलफल मार्फत विवाद टुङ्ग्याउन सकिने बताएको छ । ‘यस विषयलाई लिएर बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाँईले कानुनी बाटो अपनाएर हिडन् आग्रह गरेका छन् । बीमा समितिले अर्ध न्यायीक निकायको रुपमा आफ्नो भुमिका निभाउँदै आएको छ,’ उनले भने । ‘भूकम्पपछि मात्रै हामी कहाँ १६ अर्बको दाबी परेको र १४ अर्ब रुपैयाँको भने भुक्तान गरिसकेका छौं,’ उनले भने । तालाबन्दीको बाटो भन्दा कानुनी रुपमा बीमा समितिमा आफ्नो निवेदन दिएर तथा अदालत समक्ष पुगेर आफ्ना मुद्दा राख्दा राम्रो हुने उनले बताए । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले कानुनी प्रकिया अनुसार काम गर्दा दुबै पक्षको राम्रो हुने बताए । उनले पोलिसी अनुसार नै बीमाले काम गर्ने भएकाले कानुनी उपचार खोज्नुपर्ने प्रष्टाए । कम्पनीले गर्नु पर्ने दाबी भुक्तानी गर्नमा आफूहरू तयार रहेको बताए ।