कामना सेवाको १०८औ शाखा बाग्लुङ्गको हल्लनचोकमा

काठमाडौं । कामना सेवा विकास बैंकले  बाग्लुङ्गस्थित हल्लनचोकमा आफ्नो १०८औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष युवराज भण्डारी ,समाजसेवी बलावति शर्मा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १०८ वटा शाखा तथा ५७ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

सिद्धार्थ बैंकद्वारा तनहुँको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकले तनहुँको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २५ गते एक्सेस टु फाइनान्सको साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको हो । उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर, एकीकृत कर प्रणाली, मुल्य अभिवृद्दि कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । दमौलीको कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी र दुलेगौडाको कार्यक्रममा त्यस क्षेत्रका ३० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि यस सिद्धार्थ बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । 

ज्योति विकास बैंकले टिचफर नेपाललाई ५ लाख बराबरको आर्थिक सहयोग गर्ने

काठमाडाैं । ज्योति विकास बैंकले टिचफर नेपालसँग सोमबार ५ लाख रूपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ​। बैंकले समाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत टिचफर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक​ र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गर्ने भएकाे हो​। ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र टिचफर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आर्थिक सहयोगको साथै बैंकले टिचफर नेपालको सहयोगमा बेलाबखत आफ्नो दक्ष कर्मचारीहरुलाई ती विद्यालयहरुमा स्वयंसेवकका रुपमा पठाउने पनि प्रतिबद्धता गरेको छ​। टिचफर नेपालले हालसम्म विभिन्न ६ जिल्लाका ६५ वटा विद्यालयहरुमा ३०० भन्दा बढी स्वयंसेवक शिक्षकहरु पठाई ३०हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान​, गणित​, अङ्ग्रेजी लगायतका विषयहरु पढाउँदै आएको छ​। दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको लागि योगदान पुर्याइरहेको टिचफर नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको छ​। समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ​ र आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउने कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ​। हाल बैंकले १०२ शाखा कार्यालय, १एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक बर्ष भित्रनै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजार भन्दा बढि खाताबाट ३१ अर्ब भन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २६ अर्ब भन्दा बढि लगानी गर्न सफल भएको छ।