मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुले लिए सपथ

काठमाडौं । मुक्तिनाथ विकास बैंकका सञ्चालकहरुले बिहीबार सपथ लिएका छन् । बैंककोे आगामी ४ वर्षका लागि छनोट भएका ४ जनाले बिहीबार सपथ लिएका हुन् । ते¥हौं वार्षिक साधारण सभाद्वारा नयाँसञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको थियो । बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको छ । नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्ष सम्म प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको छ । समितिका अध्यक्ष भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष भरतराज ढकालले सपथ ग्रहण गराएका हुन् ।

प्रभुु क्यापिटल र समृद्धि क्यापिटल एकापसमा गाभिँदै, चुक्ता पुँजी ८० करोड पुग्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने भएको छ । उक्त मर्जर सम्बन्धी समझदारी पत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले हस्ताक्षर गरेका हुन् । समारोहमा प्रभु बैकका अध्यक्ष देवि प्रकाश भट्टचन, सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल तथा समृद्धि क्यापिटल लिमिटेडका सञ्चालकहरुको उपस्थिती थियो । यी दुई क्यापिटल गाभिएपछि प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमति भएको छ । मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ ।

धौलागिरी र आँधीखोला लघुवित्त गाभिँदै, चुक्ता पूँजी १७ करोड पुग्ने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । बुधबार पोखरामा दुवै संस्थाका मर्जर समितिका संयोजक र पदाधिकारीको उपस्थितिमा एक आपसमा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो मर्जर संम्झौतापछि संस्थाको नाम धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्था रहनेछ । संस्थाको अध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका इश्वरलाल राजभण्डारी रहनेछन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा आधीँखोला लघुवित्तका डोलराज के.सी र नायब प्रमुख कार्यकारी अधिकृतमा धौलागिरी लघुवित्तका शिवराम जोशी रहने समझदारी भएको बताइएको छ । मर्जरपछि संस्थाको कार्यालय पोखरा म.न.पा.–९ मा रहनेछ । सयुंक्त कारोबार २०७७ वैशाख १ बाट गर्ने योजना रहेको छ । मर्जरपछि चुक्ता पूँजी १७ करोड पुग्नेछ ।