सिटिजन्स लाइफ इन्स्योरेन्सले गर्यो ‘आर्ट अफ सक्सेज’ कार्यक्रम
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले ‘आर्ट अफ सक्सेज’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम बसुन्धरा बैंक्वेटमा सम्पन्न भएको हो । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फूयालले उद्घाटन गरेका हुन् । सिटिजन लिडरहरुको क्षमता अभिवृद्दि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरिय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रममा ४ सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रशिक्षक डा. मदनराज विष्टले भावनात्मक मानव सम्बन्ध, अन्तर मनद्वारा योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हूने पर्ने गुणहरु बारे प्रकाश पारेका थिए । व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको बेजोड संलग्नता थियो ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले कर्मचारीलाई दियो सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । शनिबार आयोजित उक्त तालिम धनगढीमा सम्पन्न भएको हो । प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरिएको थियो । गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन(कुन हुन, नियन्त्रणका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ आदि विषयमा विस्तृत जानकारी दिएको हो । कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले प्रदान गरेको तालिममा नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराको पनि उपस्थिति थियो ।
ग्लोबल आइएमईसहित तीन संस्थाबीच वित्तीय पहुँचसम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच सक्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महासंघका अध्यक्ष रिता सिंहा र अन्तर्राष्ट्रिय श्रम संगठन, नेपालका निर्देशक रिचार्ड होवार्डले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार तीनवटै संस्थाले महिलाद्वारा प्रवर्धित घरेलु, साना तथा मझौला व्यवसायमा सहज तथा सरल रुपमा वित्तीय पहुँच पुर्याउन संयुक्त रुपमा काम गर्ने छन् । बैंकले घरेलु, साना तथा मझौला उद्योगलाई आवश्यक कर्जा सरल र सहज रुपमा लगानी गर्नेछ भने अन्तर्राष्ट्रिय श्रम संगठनले महिला उद्यमीहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ । यसबाट संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी लक्ष्यको लैंगिक समानता तथा महिला सशक्तीकरणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ ।