गण्डकी विकास बैंकले एकैदिन विस्तार गर्याे ४ नयाँ शाखा
काठमाडौं । गण्डकी विकास बैंकले एकैसाथ ४ वटा शाखा कार्यालयको विस्तार गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको सो बैंकले काठमाडौंको जोरपाटी, बालुवाखानी र जरंखुमा एवं भक्तपुरको थिमीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि शाखा विस्तार गरिरहेकाे छ । शाखा उद्घाटनको क्रममा भक्तपुरको थिमीको बैंकका अध्यक्ष सुशिल गौचनले गरेका थिए भने जोरपाटी शाखाको उद्घाटन बैंकका सञ्चालक बासुदेव त्रिपाठीले गरेका हुन् । त्यस्तै बालुवाखानी शाखाको उद्घाटन कार्याक्रममा बैंकका संचालक नारायणबहादुर बानियाको उपस्थिति रहेको थियो भने जरंखु शाखामा बैंकका सञ्चालक किशोर ओझाको थिए । उक्त बैंकले नेपालभरी ९५ स्थानमा शाखा विस्तार गरिसकेको छ । भक्तपुरको थिमीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशिल गौचनले गण्डकी विकास बैंक मोफसलमा स्थापना भई राष्ट्रिय स्तरमा आफ्नो स्तर उन्नती गर्र्दै मुलुकभर ठुुलो बैंकिङ्ग सञ्जाल स्थापना गर्न सफल बैंक भएको बताए । बैंकका प्रमुुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी विकास बैंक तिन वटा वित्तीय संस्थाहरु गाभिएर बनेको राष्ट्रिय स्तरको विकास बैंक भएको र लगातार यसले लगानिकर्तालाई उच्चतम प्रतिफल दिन सक्षम बैंक भएको जानकारी दिए । न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को व्यवस्थित विकास बैंकहरूको अवार्ड हासिल गरेको छ । हालसम्म सो बैंकको कुल चुक्तापूँजी २ अर्व ७५ करोड रुपैयाँ रहेको छ भने यहि पौष मसान्त सम्ममा कुल निक्षेप ३४ अर्व २५ करोड रुपैयाँ संकलन गरी २७ अर्व ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जानकारी दिएको छ । बैंकले मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै एटिएमबाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आ.ब.सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।
दाङको घोराहीमा सिद्धार्थ बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आइतबार आयोजित उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी दिएको हो । व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । बैंकले देशभर १८२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत बैैकिङ्ग सेवा दिंदै आएको छ ।
राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम काठमाडाैंमा
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले दुईदिने बीमा अभिकर्ता तालिम सञ्चालन गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रम फागुन १८र १९ गते जीवन बीमा अभिकर्ताहरुको लागि सञ्चालन भएको हो । विभागका सह व्यवस्थापक चुडाराज अधिकारी र सहायक व्यवस्थापक स्मृति भट्टले सञ्चालन गरेको उक्त तालिम कार्यक्रममा प्रशिक्षकहरुले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी तथा बीमा बजारीकरण कला आदि विषयमा प्रशिक्षण दिएका थिए । ४४ जना प्रशिक्षार्थीहरु सहभागी भएको उक्त तालिम कार्यक्रमको समापन तथा प्रमाण पत्र वितरण संस्थानका प्रशासक कविप्रसाद पाठकले गरेका थिए ।