स्टक ब्रोकर्स एशोसिएसनको सेवा बन्द
काठमाडौं । स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले चैत ९ गते(आइतबार) देखि आफ्नो सेवा बन्द गरेको छ । एशोसियसनले सरकारको निर्णयलाई पालना गर्दै आजदेखि आगामी चैत २१ गतेसम्म सेवा बन्द गर्न लागेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेका थिए । यसपछि शनिबार बसेको ब्रोकर एसोसिएसनको बैठकले प्रधानमन्त्रीको निर्देशन पालना गर्ने सहमति गरसँगै चैत ९ गते अर्थात आजदेखि उक्त सेवा बन्द गरिएको एशोसिएसनको महासचिव धर्मराज सापकोटाले बताएका छन् । अब नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) र सिडिएस एण्ड क्लियरिङको थप निर्देशन अनुसार अघि बढ्ने महासचिव सापकोटाले बताए ।
एनएलजी इन्स्योरेन्सको धेरै सेवा अनलाइनबाटै, कर्मचारीलाई घरबाटै काम गर्ने सुविधा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ग्राहक र कर्मचारीलाई कोरोना भाइरस संक्रमणबाट बच्न उच्च सर्तकता अपनाएको छ । बीमा सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकोले महामारीको बेलामा पनि सेवाहरु सूचारु गरिने तर भाइरस संक्रमणबाट जोगिन सक्दो प्रयासहरु गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले बताए । कम्पनीले सेवा सञ्चालनमा अपनाउनु पर्ने कागजी विधिलाई कम गर्दै डिजिटल कारोबारलाई जोड दिएको छ । नयाँ बीमा पोलिसी लिन वा बीमा दावी गर्नको लागि ग्राहकले इमेल, भाइवर, म्यासेन्जर, ह्वाटस्अप, लगायतका डिजिटल प्लेटफर्म प्रयोग गर्न सक्ने र कम्पनीले बीमा पोलिसी जारी गर्दा वा दावी भुक्तानीको प्रक्रिया अगाडि बढाउँदा पनि सोही विधि अपनाउने उनले बताए । ‘पोलिसी जारी गर्दा वा दावी भुक्तानी गर्दा नियमअनुसार कागजपत्र सबै बनाउँछौं । सबै डकुमेन्टहरुको हार्डकपी रेकर्ड पनि राख्छौं । तर महामारीको समयमा सकेसम्म ग्राहकलाई कार्यालयमा पुग्नु नपरोस भनेर डिजिटल डकुमेन्टका आधारमा सेवा सञ्चालन गर्छौ’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणबाट जोगिन सकेसम्म अनलाइन प्रयोग गर्न र मिलेसम्म घरबाटै अफिसको काम गर्न देशवासीलाई अनुरोध गरेकोले सरकारको आह्वानको परिपालना गर्दै कार्यालय चलाउने विधि एनएलजीले अपनाएको प्रमुख कार्यकारी अधिकतृ पन्तले बताए । कम्पनीले कर्मचारीबीच हात मिलाउन, अंकमाल गर्न पूर्णत रोक लगाएको छ । त्यस्तै ग्राहक र कर्मचारीबीच हात मिलाउने, अंकमाल गर्ने काम पनि पूर्णत बन्द गरेको छ । प्रत्येक आधा घण्टामा साबुन पानीले हातधुन, स्यानीटाइजरको प्रयोग गर्न, सबैले आफ्नो कम्यूटर वा ल्यापटप मात्र चलाउन, अरुको डिभाइस नछुन, कार्यकक्षको ढोका नियमित खुला राख्न, दिनमा दुई/तीन पटक कागती पानी सेवन गर्न, एक÷एक घण्टामा तातोपानी, चिया, कफी पिउन कर्मचारीलाई प्रोत्साहित गरिएको उनले बताए । ‘एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीको हितलाई सधैं प्राथमिकतामा राखेको छ । यस्तो बेलामा उनीहरुको रेखदेखमा म आफै नियमित खटेको छु’ प्रमुख कार्यकारी अधिकृत पन्तले भने । कार्यालयमा पस्नुअघि ग्राहकलाई स्यानिटाईजर प्रयोग गर्न दिने, ग्राहकलाई मिटिङ कक्षमा मात्र प्रवेश दिने, मिटिङमा ५ जना भन्दा बढी नबस्ने, कर्मचारीहरुबीच तथा कर्मचारी र ग्राहकबीचको दुई २ मिटर दुरी कामय गरी बोल्ने विधि बनाई त्यसलाई पूर्णरुपमा पालना गरिएको उनले बताए । कार्यालय आउन कठिन भएका कर्मचारीको लागि घरबाटै काम गर्ने व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए । कर्मचारी हटाउने वा तलब कटाउने विधिमा कम्पनी नगएको उनले बताए ।
५०% तलब दिएर कर्मचारीलाई छुट्टी दिने महालक्ष्मीको निर्णय, संकटमा मिलेर कम्पनी बचाउने संकल्प
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको बेलामा कसरी कम्पनी व्यवस्थापन गर्ने भन्ने बारेमा ११ बुँदे निर्णय गरेको छ । त्यसमा पालैपालो गरी आधा कर्मचारीलाई विदा दिने निर्णय भएको छ । कम्पनीको नियम अनुसार पाउने बिदाभन्दा बढी विदामा बस्नु पर्नेलाई ५० प्रतिशत तलब भुक्तानी गर्ने निर्णय भएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् । ‘देश र जनता अहिले अन्तराष्ट्रिय संकटबाट गुज्रिरहेका छन् । उचित ब्यवस्थापन नगर्दा कम्पनी डुब्न सक्छन । तपाईं हाम्रो जागिर जान सक्छ । देश ठूलै संकटमा फस्न सक्छ’ भट्टराईले फेसबुक स्ट्याटसमा लेखेका छन्–यस्तोमा आफू पनि बाच्ने, अरुलाई पनि बचाउने, कम्पनी पनि बचाउने अनि देशलाई पनि सहज हुने गरि कार्य गर्नुमा नै हामी सबैको भलाई छ । कोरोना भाईरसबाट संसार नै पीडित छ । नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरि अत्यावश्यक बाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गतेसम्म बन्द गरेको छ । तर सरकारले बीमा कारोबारलाई अत्यावश्यक सेवामा राखेको छ । त्यसैले यो सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी भएकोले उपयुक्त निर्णयहरु लिएको उनले जानकारी दिए । ‘मानिसको जीवनमा भविष्यमा आईपर्ने जोखिम कै लागि बीमा गर्नु पर्ने भएकोले यो संकटको घडीमा भागेर हिड्नु पनि भएन । यस्तो बेलामा सुरक्षित पनि हुने र बीमा कारोबारको उचित व्यवस्थापन गर्नु बुद्धिमानि हुने ठानेका छौं’ भट्टराईले भने । उनका अनुसार शनिवार बसेको बैठकले ११ बुँदे निर्णय गरेको छ । उक्त निर्णयहरु भट्टराईले फेसबुकबाट सार्वजनिक गरेका छन् । कार्यलय सञ्चालन विधि र विदाका बारेमा कम्पनीले लिएको निर्णयहरु यस्ता छन् । १) कार्यालका कर्मचारि सबैको दैनिक ज्वरो मापन गर्ने, मास्क लगाउन लगाउने,सेनिटाईजर प्रयोग गराउने र १÷१ घण्टामा साबुन पानीले हात धुन लगाउने । २) कार्यालयका कर्मचारिलाई १/१ घण्टामा तातो पानी, चिया, कफि उपलब्ध गराउने । ३) कार्यालयमा भेटन सेवाग्राही र ग्राहक आउदा भेटने एउटा छुट्टै कोठाको ब्यवस्था गर्ने र ३ फिटको दुरिराखि भेट बार्ता गर्ने । अन्य कोठा कोठामा जान नदिने । ४) आउने ग्राहक र सेवाग्राहीलाई गेटमा नै ज्वरो नापीमास्क लगाई सेनिटाईजर लगाएर मात्र गेट भित्र आउन दिने । ५) बिमा कार्यालयमा एकै ठाउमा ५ जना भन्दा बढि ग्राहकसंग छलफल वा भेटघाट नगर्ने । ६) शाखा वा क्षेत्रिय कार्यालयमा दैनिक अत्यावश्यक कामको लागि आलोपालो गरि २ जना मात्र दैनिक उपस्थित हुने । सो भन्दा बढिलाई अनिवार्य बिदा बस्न लगाउने । ७) प्रधान कार्यालयमा प्रत्येक विभागमा अधिकृत एक जना र सहायक एक जना गरि दुई जना मात्र उपस्थित गराई दैनिक आई पर्ने सेवा दिने र बाँकी कर्मचारी लाई बिदा दिने । ८) प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृत पनि आलो पालो गरि आउने र बिदा बस्ने । ९) अनिवार्य दिदा लिँदा सार्बजनिक सवारीमा आउने र टाढा घर भएका कर्मचारिलाई प्राथमिकतामा राखि बिदा दिने । १०) बिदा दिदा सबैलाई पहिले संचित बिदाबाट कट्टि हुने गरि दिने, त्यो नहुने स्थायीलाई एडभान्स बिदा दिने र त्यो पनि नहुनेलाई बोर्डबाट पास गरि ५० प्रतिशत मात्र पाउने पेड लिभ दिने । ११) बिदा आलो पालो गर्दा कोरोना भाईरसको स्थिति हेरि १/१ दिन, ३/३ दिन वा ५/५ दिनको लगातार हुने गरि दिने ।