काठमाडौं । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना ६ नयाँ डिजिटल सेवा सार्वजनिक गरेको छ । तीन दिनसम्म चलेको एक्स्पोमा कम्पनीले डिजिटल भुक्तानी, व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र प्रविधिमा आधारित सेवाहरू प्रदर्शन गरेको हो ।
नेपाल फिनटेक एक्स्पो २०२६ मा खल्तीले पहिलो दिन खल्ती कार्ड, एसएमएस तथा पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो । त्यसैगरी, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप तथा खल्ती स्टक हब सार्वजनिक गर्दै आफ्नो सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।
एक्स्पोमा खल्तीको स्टलमा प्रयोगकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो । तीन दिनको अवधिमा सयौँ प्रयोगकर्ताले स्टल भ्रमण गरी कम्पनीका विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिएका थिए । कम्पनीका प्रतिनिधिहरूले नयाँ सेवाका विशेषता, प्रयोग गर्ने तरिका र उपलब्ध सुविधाबारे जानकारी दिएका थिए ।
प्रयोगकर्तालाई थप आकर्षित गर्न खल्तीले एक्स्पो अवधिभर विभिन्न सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरसमेत उपलब्ध गराएको थियो । स्मार्ट डिपोजिट, कार्ड, एसआई फिएस्टा, इन्स्योरेन्स, फ्लाइट्स, मोबाइल टपअप, डाटा प्याक, टिभी तथा आईपीटीभी लगायतका सेवामा उपलब्ध अफरले प्रयोगकर्तालाई खल्तीका विभिन्न सेवा अनुभव गर्ने अवसर दिएको कम्पनीले जनाएको छ ।
एक्स्पोमा सहभागी प्रयोगकर्ताले विशेषगरी खल्ती कार्ड, स्ट्राइप तथा पर्सनल फाइनान्स च्यालेन्जप्रति चासो देखाएका थिए । डिजिटल भुक्तानीलाई सहज बनाउने, व्यक्तिगत वित्त व्यवस्थापनमा सकारात्मक बानी विकास गर्न प्रोत्साहित गर्ने र प्रविधिमा आधारित नयाँ सेवा उपलब्ध गराउने कम्पनीको प्रयासप्रति प्रयोगकर्ताको रुचि देखिएको खल्तीले जनाएको छ ।
एक्स्पोका क्रममा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता कार्यक्रमले नयाँ सेवा सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गर्ने बताए ।
उनले खल्तीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवाहरू सार्वजनिक गरेको जानकारी दिए । नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्न प्रेरणा दिएको उनको भनाइ छ ।
आइएमई खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी तथा दैनिक जीवनका आवश्यकतासँग सम्बन्धित सेवाहरू एउटै डिजिटल प्लेटफर्ममा जोड्ने लक्ष्यसहित सेवा विस्तार गर्दै आएको छ । नेपाल फिनटेक एक्स्पो २०२६ मा सहभागिता र नयाँ सेवाको सार्वजनिक घोषणाले एकीकृत डिजिटल वित्तीय तथा जीवनशैलीसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीको योजनालाई थप अघि बढाएको छ ।