लकडाउनमा बीमा सेवा कसरी प्रवाह भइरहेको छ ? यसो भन्छन् नियामक र कम्पनीका प्रमुखहरु
काठमाडौं । बीमा क्षेत्र लकडाउनको समयमा बिमितलाई कुनै किसिमको मर्का नपार्ने गरी काम गर्न हर सम्भव प्रयास गरिरहेको छ । बीमा क्षेत्र पनि अत्यावश्यक सेवाभित्र पर्ने भए पनि विश्वव्यापी महामारीको सन्त्रासका बीचमा सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउने भनेर नियामक निकाय तथा सेवा प्रदायक कम्पनीहरु लागेका हुन् । सरकारले देशभर लकडाउन घोषणा गरेकोले बीमा कम्पनीहरुका सिमित शाखा मात्रै खुलेका छन् । शाखा बन्द भएपनि सेवा प्रवाहमा कुनै समस्या नहोस् भनेर सबै पक्ष मिलेर लागेको नियामक निकाय बीमा समितिको भनाइ छ । बीमा समिति अध्यक्ष चापागाईं बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले बिमितको सेवामा कमी आउँन नदिन प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिएको बताए । ‘अहिले म कार्यालयमै छुँ, हामीले सिङ्गो बीमा क्षेत्रलाई सहजिकरण गर्नुपर्छ, बिमितले पाउँने सेवालाई सकेसम्म नरोक्न बीमा कम्पनीलाई निर्देशन दिदै आएका छौँ’, बीमा समितिका अध्यक्ष चापागाईंले विकासन्युजसँग भने । सूर्या लाइफका सीइओ पाण्डे सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डेले राज्यको नीति र योजना अनुसार नै आफूहरुले काम गरिरहेका बताए । ‘अहिले हामीले चाहेको जसरी बाहिर हिड्ने वातावरण छैन, सरकारले पनि बाहिर नहिड्न निर्देशन जारी गरेको छ, यस्तो अवस्थामा पनि बिमितलाई समस्या नहोस् भनेर हामीले सहजीकरणका विभिन्न उपाय अवलम्बन गरेका छौं, कुनै समस्या भए कम्पनीका माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेर सहयोग लिन सकिने व्यवस्था मिलाएका छौं,’ सीइओ पाण्डेले भने । सिटिजन लाईफका सीइओ पौडेल सिटिजन लाईफ इन्स्योरेन्सका सिइओ पोशकराज पौडेलले लकडाउनका कारण सेवा प्रवाह सामान्य रुपमा प्रभावित हुने भएपनि बिमितको सहजताको लागि हरसम्भव प्रयत्न भइरहेको जानकारी दिए । ‘अहिले सबैतिर लकडाउनको प्रभाव छ, यसको असर बीमा व्यवसायमा पनि परेको छ, बिमितलाई सेवा लिनुपर्ने अवस्थामा असर कम परोस् भनेर अनलाइन माध्यमबाट सेवा प्रवाह गर्नेलगायतका व्यवस्था मिलाएका छौं,’ सिटिजन लाईफका सिइओ पौडेलले भने । युनियन लाईफका सीइओ कर्ण युनियन लाईफका सिईओ मनोज कुमार लालकर्णले आफूहरुले ७ वटै प्रदेशमा बीमा सेवा सहज बनाउँन विशेष व्यवस्था गरेको बताउँछन् । ‘हामीले ७ वटै प्रदेशमा बीमा सेवा सहज बनाउँन लागिपरेका छौँ, सोही प्रयोजनको लागि ७ वटै प्रदेशका शाखा प्रमुखहरुसँग निरन्तर सम्पर्कमा रहेर आवश्यक व्यवस्था मिलाइएको छ, अभिकर्ता नै घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा हामीले घर भित्रबाट दिन सक्ने सेवामा जोड दिइरहेका छौँ’, युनियन लाईफका सिईओ लालकर्णले भने । राष्ट्रिय बीमा संस्थानका प्रशासक पाठक राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले अति आवश्यक कामका लागि बिमितहरुले आफूलाई सम्पर्क गरेको र त्यस्तो अवस्थामा आफूले काम गरिरहेको बताए । ‘अहिले हाम्रा केही कर्मचारी कार्यालयमा जाने र अति आवश्यक अवस्था भएका बिमितहरुको काम गर्ने गरिरहनु भएको छ, सर्वसाधारण हामी कहाँ आईपुग्ने अवस्था पनि छैन, तैपनि हामीले आवश्यक सेवा रोकेका छैनौँ’, बीमा संस्थानका प्रशासक पाठकले भने । सन नेपाल लाईफका सीइओ अर्याल सन नेपाल लाईफका सिईओ राजकुमार अर्यालले अहिले विशेष अवस्था भएको र सबै कम्पनीहरुले एउटै प्रकृया अपनाएर अघि बढिरहेको बताए । ‘अहिले अन्य बेला जस्तो छैन, यो विशेष अवस्था हो, यस्तो अवस्थामा सबै बीमा कम्पनीहरुले एउटै प्रकृयाबाट अघि बढिरहेका छन्, सम्पर्क गर्ने व्यक्तिहरु सबै संस्थामा तोकिएका छन् र सोही अनुसार हाम्रो कम्पनीमा पनि काम भइरहेको छ’, सन नेपाल लाईफका सिईओ अर्यालले भने । शिखर इन्स्योरेन्सका सीइओ पाण्डे शिखर इन्स्योरेन्स कम्पनीका सिइओ दिपप्रकाश पाण्डेले आवश्यकता अनुसार सर्भेयरसम्म पठाएर आफूहरुले काम गरिरहेको बताए । ‘अहिले लकडाउनको अवस्था छ, यस्तो बेलामा सरकार तथा बीमा समितिको निर्देशन मान्ने कुरा त छदैँछ, हामीले त्यसको साथ–साथै अति आवश्यक रहेको अवस्थामा हाम्रा सर्भेयर पाठाउँनेदेखि गर्न सकिने जति काम सबै गर्दै आएका छौँ’, शिखर इन्स्योरेन्स कम्पनीका सिइओ पाण्डेले भने । सगरमाथा इन्स्योरेन्सका सीइओ क्षेत्री सगरमाथा इन्स्योरेन्स कम्पनीमा सिइओ चंकी क्षेत्रीका अनुुसार घरबाट हुन सक्ने प्रविधिमैत्री सेवाहरु अहिले बिमितले पाईरहेका छन् । ‘हामीले बिमितलाई घर–घरमा सेवा दिईरहेका छौं, प्रविधिमैत्री सेवा सबै बीमा कम्पनीहरुले नै दिइरहेका छन्, हामीले मोवाईल तथा एपबाट हुने सेवाहरु आफ्नो वेवासाईटै दिन मिल्ने व्यवस्था बनाइसकेका छौं’, सिइओ क्षेत्रीले भने । अजोड इन्स्योरेन्सका सीइओ खत्री अजोड इन्स्योरेन्स कम्पनीका सिइओ कुमार बहादुर खत्रीले आफू समक्ष आएका कामलाई सकेसम्म नर्फकाईएको बताए । ‘हामीकहाँ आएका कामहरु सकेसम्म त्यतिकै फिर्ता पठाएका छैनौ, नेट र कम्प्युटर जताततै भएका कारण काम रोक्नुपर्ने अवस्था पनि छैन, सोही कारण यो संकटको बेलामा बढीभन्दा बढी प्रभावकारी सेवा दिने ध्याउन्नमा छौं,’ अजोड इन्स्योरेन्स कम्पनीमा सिइओ खत्रीले भने । एभरेष्ट इन्स्योरेन्सका सीइओ गौतम एभरेष्ट इन्स्योरेन्स कम्पनीका सिइओ कमल गौतमले अहिलेको समयमा हाईटेक प्रविधि रहेको र त्यसले व्यवसायमा प्रबद्र्धन तथा सेवा प्रवाहलाई राम्रो साथ दिएको बताए । ‘अहिले हाईटेक प्रविधि छ, ईन्टरनेटकै प्रयोगका कारण विभिन्न काम गर्न सकिन्छ, संकटको अवस्थामा हामी बिमितलाई बढीभन्दा बढी र गुणस्तरीय सेवा दिने प्रबन्ध मिलाइरहेका छौं,’ एभरेष्ट इन्स्योरेन्स कम्पनीका सिइओ गौतमले भने । सिद्धार्थ इन्स्योेरेन्सका सीइओ बैद्यवार सिद्धार्थ इन्स्योेरेन्स कम्पनीका सिइओ विरेन्द्र वैद्यवारले बिमितको आवश्यकता अनुसार काम गरेकोले समन्वय गर्न खासै समस्या नभएको बताए । ‘अहिले सबैतिर बन्द छ, भौतिक रुपमा कार्यालय जाने भन्दापनि अहिले अनलाईनबाट आवश्यक सेवा दिएर काम अघि बढिरहेको अवस्था छ’, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिइओ वैद्यवारले भने ।
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो दुईवटा अनलाइन सेवा, कसरी लिने ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘म्याच्युरिटी क्लेम’ र ‘क्लेम इन्टिमेसन’ नामक दुईवटा अनलाइन सेवा संचालनमा ल्याएको छ । कम्पनीले लकडाउनको अवधिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो । जसमध्ये ‘म्याच्युरिटी क्लेम’ सेवा मार्फत आफ्ना बीमितहरुले बीमालेख म्याच्युरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा म्याच्युरिटीको समय पुगेका बीमितहरुले आफ्नाे बीमा लेखको म्याच्युरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याच्युरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ । त्यसैगरी ‘क्लेम इन्टिमेसन’ सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाडि बढाउनेछन् । नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नाे अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ । जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा ‘भरच्युअल अफिस’को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् । यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । कसरी लिने म्याच्युरिटी क्लेम र क्लेम इन्टिमेसन सेवा ? सेवाग्राहीहरुले म्याच्युरिटी क्लेम र क्लेम इन्टिमेसन सेवा लिनकाे लागि यसमा क्लिक गर्न सक्नेछन् । साथै, उक्त सेवा लिने ट्युटोरियलको लागि यसमा क्लिक गर्न सकिने छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । साथै, यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।
मेटलाईफका सम्पूर्ण शाखाहरु बन्द, बीमा सेवा अनलाईनबाट लिन सकिने
काठमाडौं । मेटलाईफ इन्स्योरेन्स कम्पनीले कोभिड नाएन्टीनका कारण सम्पूर्ण बीमा सेवाहरु बन्द भएपनि अनलाईनबाट हुने सेवाहरु निरन्तर चल्ने जनाएको छ । कम्पनीले बिमितलाई पर्न सक्ने असहजतालाई ध्यान दिँदै यस्तो व्यवस्था गरेको हो । के के छन् कम्पनीले जारी गरेकाे सूचनामाः – लक डाउनको अवधिका कारण बीमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमालेखहरुलाई निरन्तरता दिने । – लकडाउनका कारण भुक्तानी हुन नसकेका बीमाशुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनैपनि बिलम्ब शुल्क नलाग्ने । – कम्पनीको वेवसाईट अनलाईन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने । – अत्याआवश्यक सेवासम्बन्धि सम्पूर्ण कार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने । – फाने, फेसबुक र इ–मेलको मार्फत ग्राहकहरु, कर्मचारीहरु तथा अभिकर्ता लगायतका व्यवसायिक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्ने । – मेटलाईफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बीमा लगायतका व्यक्तिगत तथा सामूहिक जीवनबीमा लेखहरु, बीमालेखका सर्तहरुको अधिनमा रहि सदा झैँ रक्षावरण प्रदान गरिने छ । सम्पर्कका व्यक्तीको रुपमा मेट लाईफले कर्मचारीहरु प्रजनी शाही, सलीना शाक्य र मनोज नेपाललाई तोकेको छ ।