महालक्ष्मी लाईफ इन्स्योरेन्सका सीईओ भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता दिने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने भएका छन् । उनले इन्स्योरेन्सको सीईओको हैसियतले आफुले पाउने २ महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । उक्त रकमको चेक लकडाउन खुलेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उनले बताएका छन् । तर उनले कति पैसा भुक्तानी गर्दैछन् भनेर खुलाइएकाे छैन ।

कुमारी बैंकले गर्याे कोरोना रोकथाम कोषमा ७० लाख सहयोग

काठमाडौं । कुमारी बैंकको विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीको रोकथामका निमित्त सरकारी कोषमा ७० लाख सहयोग गरेको छ । प्रत्येक प्रदेशबाट १० लाख रुपैयाँको दरले बैंकले कूल ७० लाख रुपैयाँको सहयोग पुर्याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले उक्त रकम सहयोग गरेको हो । बैंकले प्रदेश सरकारको कोषमा १० लाख रुपैयाँका दरले जम्मा हुने गरी कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अति विपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो सहयोग रकम उपलब्ध गराएको हो । गत चैत्र १९ गते बुधबारका दिन केन्द्रिय प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेललाई एक समारोहबीच बैंकका तर्फबाट हेटौंडा शाखा प्रबन्धक कृष्ण शर्माले सहयोग रकम हस्तान्तरण गरेका हुन् । यसैगरी, बैंकको तर्फबाट प्रदेश नं ५ मा सोही प्रदेशका मूख्यमन्त्री शंकर पौडेललाई बुटवलका शाखा प्रबन्धक सुदन खत्री र कर्णाली प्रदेशमा उक्त प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुर्खेतका शाखा प्रबन्धक हिमाल मुढभरीले सहयोग रकम हस्तान्तरण गरेका हुन् । बैंकको यस सहयोगप्रति सम्बन्धित सरकार प्रमुखहरुले धन्यवाद ज्ञापन गर्दै सरकार मात्र नभई हरेक नेपाली संघसंस्था एवं नागरिकको संयुक्त प्रयास र योगदानले मात्र उक्त महामारी एवं विपदको समयमै न्यूनीकरण एवं नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे । कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थापनमा सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधा उपलब्ध गराउंदै आएको छ ।

कोरोना नियन्त्रण कोषमा राष्ट्रिय बीमा संस्थानले दियो १ करोड रुपैयाँ

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले कोरोना नियन्त्रण कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ । संस्थानले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा उक्त रकम सहयोग गर्ने भएको हो । संस्थानको चैत १९ गते सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त रकमले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्नुका साथै प्रभावित नागरिकहरुलाई उपचार गर्न र यसबाट श्रृजना हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास संस्थानले लिएको छ ।