सनराइज बैंकका ग्राहकले मेरो किरानाबाट सामान किन्दा १० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंकका ग्राहकले मेरो किरानाबाट सामान किन्दा १० प्रतिशत छुट पाउने भएका छन् । हालको लकडाउनको अवस्थामा आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने उद्देश्यले बैंकले उक्त व्यवस्था गरेको हो । यससँगै, बैंकले हालको लकडाउनको अवस्थामा पनि मेरो किरानामा गरिएको अर्डरका लागि सनराइज बैंकको क्यूआर कोड प्रयोगगरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ । वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु गरिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ् सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै, बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

नेशनल लाईफ इन्स्योरेन्सले भुक्तानी गर्यो एक करोड ८४ लाख रुपैयाँ

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्णावधि दावी(Maturity Claim) वापत १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ रकम बीमितलाई भुक्तानी गरेको छ । लकडाउनको अवधिमा डिजिटल माध्यमबाट विविध बीमासेवा उपलब्ध गराउँदै आएको यस कम्पनीले सो अवधिमा उक्त रकम भुक्तानी गरेको हो । कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ । कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बीमा गरेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी गराएका छन् । सो रोग लागेको पि.सि.आर. प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बीमाङ्क रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।

ज्योति लाईफ इन्स्योरेन्सकाे बीमा शुल्क ९७ प्रतिशतले वृद्धि

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स बीमा शुल्क गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रोत्रयमा ९७ प्रतिशतले वृद्धि भएको छ । लकडाउनको अवधिमा नै  इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रोत्रय प्रकाशित गरेको थियो । प्रकाशित सो वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको तेश्रोत्रयमा समाकुल बीमा शुल्कमा ९७ प्रतिशतले वृद्धि गर्दै १.१४अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको देखिन्छ । व्यवसाय वृद्धिसंगै जीवन बीमा कोष ज्योति लाईफ इन्स्योरेन्स बलियो बनाउँदै गएकाे छ । कम्पनीले अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको कारणले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ । त्यस्तै अल्पकालिन लगानीमा ५८ प्रतिशतले गिरावट आएको छ । व्यवस्थापन खर्चमा भएको वृद्धिको बाबजुद कम्पनीले खुदनाफामा समेत १४ प्रतिशतले सुधार गर्दै ११.५१ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ भने नाफाको रकम बीमाङ्किय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ । व्यवसाय तथा बीमितको संख्या वृद्धीसंगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भईदाबी वापत ८९.५९ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । व्यवसाय तथा लगानी बृद्धि, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको तेश्रोत्रय मासमा जगेडा कोषमा समेत ८३ प्रतिशतले वृद्धि भइ ३७.३९ करोड रुपैयाँ कायम हुन गएको देखिन्छ । भने जिवनबीमा कोषमा १९१ प्रतिशतले वृद्धि भइ १.४० अर्ब रुपैयाँ रहेकोे देखिन्छ । कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामी दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ ।