जीवन बीमा कम्पनीहरुले संकलन गरे ६२ अर्ब बीमा शुल्क, गत वर्षकोभन्दा १७ अर्ब बढी
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६२ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ४५ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब रुपैयाँको वृद्धि भएको हो । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क २१ अर्ब २२ करोड रुपैयाँ तथा नविकरण बीमाशुल्क ४१ अर्ब ३ करोड रुपैयाँ रहेको छ । यस्तै, बैदेशिक रोजगारी बीमाशुल्क मार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बैदेशिक रोजगारमा जाने श्रमिकहरुको बीमाशुल्क बीमा कम्पनीहरुको पुल मार्फत हुँदै आएको छ । कोरोना महामारीका कारण हाल देशभर भइरहेको लकडाउनको कारण जीवन बीमातर्फ अभिकर्ताहरुको नविकरण शुल्क बुझाउँने म्याद थप गर्न बीमा समितिले निर्देशन दिएको थियो । लकडाउनकै कारण अभिकर्ताहरुले नविकरणकालागि बुझाउँने शुल्क भने बीमा कम्पनीहरुले उठाउन बाँकी छ । बीमालेख जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७५ लाख १२ हजार ६ सय ३० वटा बीमालेख बिक्री गरेका छन् । कर्मचारी संख्या चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको संख्या ५ हजार ५ सय ३४ रहेको छ । यस्तै, चैत मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या १ हजार ८ सय ४७ रहेको छ । कुन कम्पनीले संकलन गरे कति बीमाशुल्क ? सरकारको स्वामित्वसमेत रहेको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षकोे चैत मसान्तसम्ममा ६ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ६४ करोड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब ७० करोड र एलआईसी नेपालले १० अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । मेट लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब १० करोड, सूर्या लाइफले १ अर्ब ८५ करोड रुपैयाँ तथा गुराँश लाइफले १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, प्राईम लाईफले २ अर्ब २१ करोड, आईएमई लाईफ ८८ करोड रुपैयाँ, युनियन लाइफले ३ अर्ब १९ करोड रुपैयाँ, ज्योति लाईफले १ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुुुसार सन नेपाल लाइफले ८५ करोड रुपैयाँ, रिलायन्स लाइफले ७३ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब २५ करोड रुपैयाँ र सिटिजन लाइफले १ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा लाइफले ५७ करोड, प्रभु लाइफले ५२ करोड तथा महालक्ष्मी लाईफले ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
महालक्ष्मी विकास बैंकले सबै कर्मचारीको गर्यो कोभिड-१९ बीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा गरेको छ । बैंकले काेराेना भाइरस (कोभिड-१९) बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड-१९ बीमा गरेको हो । विकास बैंकले हाल जारी रहेको लकडाउनको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि महालक्ष्मी विकास बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउदै बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै संस्थाले सबैको कोरोना बीमा गरेको हो । संस्थाले हाल देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै संभव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
आशा लघुवित्तले प्रभु इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना सबै कर्मचारीहरुको कोरोना माहामारी बिरुद्धको बीमा गरेको छ । वित्तीय संस्थाले प्रभु इन्स्योरेन्स मार्फत सबै (स्थायी, करार, प्रशिक्षार्थी तथा दैनिक ज्यालादार कामदार) कर्मचारीको कोरोना बीमा गरेको हो । संस्थाले वित्तीय संस्थामा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको बीमा गरेको हो । बीमा भए पश्चात अब वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरस परिक्षण गर्दा पोजेटिभ पाईएमा इन्स्योरेन्स कम्पनीले तोकिय बमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपुर्ति स्वरुप प्रदान गर्ने कुरा वित्तीय संस्थाले जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५५ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब २ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।