पुँजीबजारलाई कर प्रोत्साहन गर्नुपर्छ- अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारलाई कर प्रोत्साहन गर्नुपर्ने बताएका छन् । बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले बजारमा सरल ढंगले कर तिर्ने व्यवस्था मिलाउनु पर्ने बताएका हुन् । साथै, बजार विस्तारको लागि केही कुरा मिलाउनु पर्ने भए छलफल गरेर अगाडि बढ्ने उनले जानकारी गराए । ‘हामीले पुँजी बजारमा सबैको पहुँच पुर्याउनु पर्छ । सेयर बजारमा सर्वसाधारणको सहभागि सूनिश्चित गुर्नपर्छ । कसरी गर्न सकिन्छ भन्नेमा दुईटा कुरा छन् । पहिलो सुचनाको आधारबाट उसले कुन कम्पनीको सेयरमा लगानी गर्न उपयुक्त हुन्छ ऊ आफैले निणर्य गर्छ । यसको लागि बजार सूचना प्रणाली लगायत कम्पनीको प्रोफाइल पारदर्शी हुनु पर्छ ।’ ‘दोश्रो, उसले जोखिम मोल्न जानेको छैन तर बजारमा सहभागि हुन चाहन्छ भने म्युचअल फण्ड ल्याइएको छ । आफु सँधै सेयर बजारमा सक्रिय हुन नसक्नेको लागि उक्त फण्ड बजारमा ल्याइएको हो ।’ ‘तेश्रो, बजारमा सेयरको मूल्य स्थायी रुपमा अनुमान योग्य तरिकाले अघि बढाउनु पर्छ । त्यसको लागि व्यक्तिगत लगानीकर्ता भन्दा संस्थागत लगानीकर्ताले बढी सूचना प्राप्त गर्न सक्ने, बढी विश्लेषण गर्न सक्ने र आफ्नाे सेयरमा आउन सक्ने उतारचढावलाई पनि धान्न सक्ने क्षमता हुन्छ । त्यसैले संस्थागत लगानीकर्ता बढाउनको लागि स्टक डिलरलाई ल्याउने तयारी भइरहेको छ । यसले बजारमा अस्वभाविक रुपमा हुने उतारचढाव तथा बजार अस्थीर पनि हुँदैन ।’ उनले भने- ‘वित्तीय साक्षरता पुगेकै छैन । सेयर बजार कसरी अगाडि बढाउन सकिन्छ, नाफा कसरी सुनिश्चित गराउन सकिन्छ भन्ने पनि साक्षरता नै हो । भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड ल्याउनको लागि बिनियमावलीहरु बनाईसकेका छौं ।’ ‘पुनरसंरचना सम्बन्धमा सिडीएस र नेप्सेले एकीकृत रुपमा कारोबार गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा छलफल भइरहेको छ ।’ ‘कोभिडका कारणले विश्व अर्थतन्त्रले नयाँ मोड लिँदै छ । युरोपेली र अमेरिकी बजारहरु हाम्रो भन्दा बढी प्रभावित भएका छन् । केही सीमित मुलुकहरु मात्रै आगामी आवमा पोजेटिभ आर्थिक वृद्धिमा जाने छन् । त्यसैले पुँजी पनि यहि हुने हो । बचत पनि यहि हुने हो । लगानी पनि यहि क्षेत्रमा हुने हो । त्यसको लागि चाहिने पुँजीबजारको संलग्नता सार्क क्षेत्रमा पुँजीबजार चलायमान गर्नको लागि एकआपसमा प्राविधिक सहयोग, बजारको समन्वय र भोलि आवश्यक पर्यो भने सहकार्य गर्दै अघि जानु पर्ने हुन्छ ।’- उनले बताए । ‘एशियाली र दक्षिण एशियाली मूलकमा पुँजी बजार परिचालनमा अत्यन्तै धेरै सहकार्य गर्नुपर्ने देखिएको छ । जसले प्रविधि हस्तान्तरणसँगसँगै केहि क्षेत्रमा पुँजी परिचालन गर्न पनि सहयोग हुने छ ।’ ‘कोभिडलाई परास्त गर्दै अर्थतन्त्रलाई पुरानै बाटोमा ल्याउँछौं । ७ प्रतिशतको आर्थिक वृद्धि भनिरहँदा आकाश छुने कुरा गरेको होइन । विगत तीन वर्षको औसतमा पुग्ने कुरा गरेका हौं र पुग्छौं पनि । यसको लागि पुँजी परिचालन गर्नु पर्ने छ । यसमा बोर्डको प्रमुख भूमिका हुने र निजी क्षेत्रलाई स्वपुँजीको माध्यमबाट पुँजी परिचालन गर्ने कुरामा केहि हदसम्म ऋणपत्रको माध्यमबाट समेत सहयोग पुग्ने छन् । निजी क्षेत्रका पुँजी पूर्ण परिचालित भई आगामी आवको आर्थिक वृद्धि हासिल गर्न सक्छौं ।’
बोर्डलाई अर्थमन्त्रीले भने- चुप लागेर नबस्नुस्, आवश्यक तयारी गरेर बजार खुलाउनुस्
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आवश्यक तयारी गरेर बजार खुलाउन नेपाल धितोपत्र बोर्डलाई भनेका छन् । कोरोनासँग लड्दै देशकाे दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्दै जानु पर्ने जानकारी गराउँदै उनले सो कुरा बताएका हुन् । बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले, ‘लामो समयसम्म लकडाउन होला । त्यसैले चुप लागेर नबसी सुधारहरु, बजार खोलेको दिन गर्नुपर्ने तयारी गरेर अघि बढ्न उपयुक्त हुने’ जनाएका छन् । उनले कोभिडका कारणले बजार बन्द गर्दै जाँदा सेयर कारोबार गर्ने लगानीकर्तालाई अफ्ठ्यारो परेको हुन सक्ने बताए । साथै, देशको समग्र आर्थिक क्रियाकलापहरु सिथिल हुँदै जाँदा त्यसको प्रभाव धितोपत्र बजारमा पनि परेको उनले बताए । पुँजी बजारको औचित्यको बारेमा पहिलेदेखि बहस गरिरहेको बताउँदै उनले आन्तरिक पुँजी परिचालनका माध्यमबाट दीर्घकालिन लगानीका लागि अवसर सृर्जना गर्ने प्रणाली धितोपत्र बोर्ड रहेको बताए । ऋणपत्रको दोश्रो बजार विकासको कुरा उपयुक्त रहेकाे जनाउँदै उनले अहिले नेपाल सरकारले सार्वजनिक ऋण व्यवस्थापन गर्ने र आन्तरिक ऋणपत्रहरु सरकारी ऋणपत्र समेत बजारमा परिचालन गर्न सकिने जान खोजेको जानकारी गराए । ‘बैंकहरुले ठूलो परिमाणमा डिबेन्चरहरु जारी गर्दै छन् । क्रमशः भोलि औद्योगिक ऋणपत्रहरु पनि आउने सम्भावना छ । यो भयो भने ऋणपत्रको बजार अघि बढ्दै जान्छ ।’- उनले भने । कोभिडका कारणले बस्तु बिनिमय बजार तत्कालको लागि ठूलो सम्भाभ्य व्यवसाय नहुन सक्ने बताउँदै उनले आगामी दिनमा यो क्षेत्रमा लगानी बढ्ने जानकारी गराए । यसको लागि नियामकको रुपमा धितोपत्र बोर्डलाई नै राखिएको उनले जनाए । अब आउने ऐनले यसलाई अझ व्यवस्थित गर्ने उनले जनाएका छन् । साथै, वस्तु विनिमय बजारका एक्टरहरु पनि पुँजीबजारका एक्टरहरु वा संस्थाहरु जस्तै हुने उनले बताए । त्यसैगरी, बाेर्डले क्रेडिट रेटिङको लागत घटाउँदै जानु पर्ने आवश्यकता देखिएको उनले भने । २७ वर्ष पार गरिरहँदा बोर्ड निकै परिष्कृत संस्थाको रुपमा अगाडि बढीसकेको बताउँदै आगामी दिनमा सशक्त नियमकको हिसावले अघि बढ्ने अपेक्षा रहेकाे जनाएका छन् ।
कमोडिटी मार्केटको लगानीमा बीमा क्षेत्र तयार- चिरञ्जीवी चापागाईं
काठमाडौं । कमोडिटी मार्केटको लगानीमा बीमा क्षेत्र तयार रहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताएका छन् । बीमा क्षेत्रको नियमक निकायबाट बोल्दै उनले सो कुरा बताएका हुन् । नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । साथै, बीमा अभिकर्ता मार्फत सबै स्थानीय तहमा बीमाको पहुँच पुगेको बताउँदै उनले त्यसरी जम्मा भएको पुँजी दोस्रो बजारमा लगानी गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्। बीमा क्षेत्रको नियमक निकायबाट सुझाव दिँदै उनले ऋणपत्रकाे काराेबारलाई छिटाे भन्दा छिटाे दाेश्राे बजारमा ल्याउन पहल गरेका छन् । त्यस्तै, बीमा कम्पनीहरुलाई अल्पकालिन समयको लागि लगानीको व्यवस्था गर्न समेत बोर्डलाई सुझाव दिएका छन् ।