ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा भट्ट, बैंकिङ र बीमा क्षेत्रमा २२ वर्षको अनुभव
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल बाँकी छदै पदबाट राजीनामा गरेपछि भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । सन् १९९८ देखि नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टसँग सो बैंकको सहायक महाप्रबन्धकको कार्य अनुभव पनि छ । इन्भेष्टमेन्ट बैंक छोडेर उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गएका थिए । मेगा बैंकमा उनले सो पदमा रहेर ६ महिना काम गरेका थिए । त्यसपछि उनी विभिन्न बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध थिए । त्यसपछि भट्ट आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनलाई २०७५ भदौ तेस्रो साता आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । सो कम्पनीमा उनको कार्यकाल आगामी भदौमा २ वर्ष पुग्दैछ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट आज (असार २४ गते) राजीनामा गरेका छन् । उनको राजीनामा आजै स्वीकृत भएको कम्पनी स्रोतले जानकारी दिएको छ । यद्यपि भट्टलाई ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएपनि सम्झौता भने भैसकेको छैन । भट्टसँग रेमिट टु नेपाल प्रालिको प्रमुख कार्यकारी अधिकृतको कार्य अनुभव पनि छ ।
साधना लघुवित्तको सेयर भर्ने म्याद सकियो, १६ गुणा बढी आवेदन, कतिले भरे ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद आजबाट सकिएको छ । संस्थाले माग गरेभन्दा बढी आवेदन परेपछि उक्त सेयर निष्काशन बन्द छिटो मितिमा भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाको सेयरमा एक करोड ८ लाख ७९ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन परेकाे छ । जुन सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको तुलनामा १६.४४ गुणा बढी हाे । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर छुट्याएकाे थियाे । जसमा ४ लाख ४७ हजार एक सय २३ जनाले साे मात्रा अर्थात एक अर्ब ८ करोड ७९ लाख ८३ हजार रुपैयाँ बराबरकाे सेयर माग गरेका छन् । त्यस्तै, आईपीओ खरीदका लागि आएका ८ हजार ६०४ वटा आवेदन याेग्य नभएकाेले रद्ध भएकाे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएकाे छ । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियाे । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म रहेकाे थियाे ।
लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर पारित, हकप्रद लिएकाले पनि पाउने
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित ८.१२५ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको आज(असार २४ गते) सम्पन्न १५औं वार्षिक साधारण सभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५ प्रतिशतले हुन आउने खुद ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको हो । उक्त बोनस आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद सेयर लिनेले समेत पाउने कम्पनीले जनाएको छ । साथै, सभाले कर प्रयोजनको लागि ४२ लाख ९० हजार रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८ प्रतिशतले वृद्धि भई १ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको कम्पनीले जानकारी गराएको छ । साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराईलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । यससँगै उनीहरुले आगामी चार वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।