अजोड इन्स्योरेन्सको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे ?
काठमाडौं । अजोड इन्स्योरेन्सले जारी गरेको साधारण सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा एक लाख २६ हजार आवेदकले ५० लाख कित्ता भन्दा बढी सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले माग गरेको भन्दा १.८३ गुणा बढी हो । कम्पनीले बिहीबार(असार २५ गते)बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।
ज्योति लाईफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो जीवन बीमा दावी भुक्तानी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको धनगढी प्रादेशिक कार्यालयले २ लाख ९ हजार ८ सय रुपैयाँ बराबराको जीवन बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित जगदिश कुमार भट्टको २०७६ साल फागुन ८ गते उपचारको क्रममा निधन भएकोले बीमितका श्रीमती मन्जु कुमारी भट्टलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । मृतकका श्रीमती मन्जु कुमारी भट्टले बीमित भट्टको मृत्यु भएको जानकारी गराई आवश्यक कागजात पेश गरि उक्त भुक्तानी पाएकी हुन् । धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले मिति असार २२ गते दाबी रकम दुई लाख तथा बोनस रकम ९ हजार ८ सय रुपैयाँ गरी जम्मा २ लाख ९ हजार ८ सय रुपैयाँ दाबी रकम दाबीकर्ता श्रीमती मन्जु कुमारी भट्टलाई प्रादेशिक कार्यालय धनगढीबाट हस्तान्तरण गरेका हुन् ।
स्वावलम्बन लघुवित्तको विभिन्न शाखाका घरधनीले दिए घरभाडा छुट
काठमाडौं । दाङ्ग जिल्ला शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयलाई घरधनी तोपेन्द्र बहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन् । कोरोनाको कहर बीच विपन्न तथा न्यून आए भएको सदस्यलाई घरदैलोमा वित्तीय सेवा पुर्याउदै आएको संस्थालाई आर्थिक भार कम गर्ने अभिप्रायले आफुले सकेको सहयोग गरेको घरधनी थापाले बताए । शाखा कार्यालय धनौरीका कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले कठिनाईको यस अवस्थामा हातेमालो गरेकोमा घरधनी थापालाई धन्यबाद दिएका छन् । त्यस्तै, घोराही स्थित वित्तीय संस्थाको इलाका कार्यालय रहेको घरधनी माधवा पाण्डे र शाखा कार्यालय रहेको भवनका घरधनी कृष्ण बहादुर खड्काले घरभाडा रकम १५ दिन बराबरको रकम सहुलियत दिएका छन् । त्यसैगरी, उपशाखा कार्यालय थारमारेका घरधनी खड्ग बहादुर के.सी.ले ५ हजार रुपैयाँ छुट दिएका छन् । वित्तीय संस्थाले कोरोना रोकथामका लागि संघीय सरकारको कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, संस्थाले विभिन्न जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत स्थानीय सरकारहरुले खडा गरेको राहत कोषमा १० लाख रुपैयाँ नगद तथा शाखा कार्यालय मार्फत अप्ठ्यारोमा परेका सदस्य तथा स्थानीय समुदायमा राहत सामग्री समेत वितरण गरेको छ ।