साधना लघुवित्तको आईपीओ बाँडफाँड आज ५ बजे

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) आज(असार २९ गते) बाँडफाँड हुने भएको छ । आज साँझ ५ बजे काठमाडौंको जमल स्थित सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा हुने भएको छ । संस्थाले सेयर निष्काशन बन्द गरेकाे ५ दिनमै बाँडफाँड गर्न लागेकाे हाे । उक्त सेयरकाे निष्काशन बन्द गत असार २४ गते भएकाे थियाे । माग गरेभन्दा बढी आवेदन परेपछि संस्थाले छिटो मितिमा सेयर निष्काशन बन्द गरेकाे हाे । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ४ लाख ५८ हजार ६ सय ४३ जनाले एक करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले सर्वसाधारणमा बिक्री गरेको भन्दा १७ गुणा बढी हो । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे ।

अजोड इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ)मा आवेदन दिने सोमबार(आज) अन्तिम दिन रहेको छ । उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेसँगै संस्थाले असार २९ गते नै निष्काशन बन्द गर्ने भएको हो । यससँगै इच्छुक लगानीकर्ताले सोमबार बैंकिङ् समयभित्रमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ४ लाख एक हजार ५ सय २ जना लगानीकर्ताले एक करोड ४७ लाख ८५ हजार १ सय ५० कित्ता सेयर माग गरेका छन् । जुन संस्थाले माग गरेको भन्दा ५.४१ गुणाले बढी हो । कम्पनीले बिहीबार(असार २५ गते)बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने व्यवस्था रहेकाे छ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । सम्बन्धित सामाग्रीः अजोड इन्स्योरेन्सको आईपीओ किन्नुभयो ? ३ वर्षमा यस्तो बन्दैछ कम्पनी  

रिलायन्स लाइफ इन्स्योरेन्सले सम्पन्न गर्याे तेस्रो वार्षिक साधारण सभा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले असार २८ गते आईतबारका दिन कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा कम्पनीका अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो सभाले सञ्चालक समितिको आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं. अन्य सुविधाहरु निर्धारण गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ । कम्पनीका संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कडेल रहेका छन् । साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ । कम्पनीले २०७४ मंसिर १ गतेदेखि विधिवत् रुपमा जीवन बीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै हाल १०० वटा शाखा/उपशाखा कार्यालयहरुबाट आफ्नो कार्य संचालन गरिरहेको छ । कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । उक्त जारी पुँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड रुपैयाँ बराबरको सेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।