२ लाख ७३ हजारले पाए अजोड इन्स्योरेन्सको आईपीओ
काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । निष्काशन बन्द भएको ४ दिनमै संस्थाको सेयर बाँडफाँड भएको हो । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकीको हात खाली भएको छ । योग्य आवेदन दिएकामध्ये २ लाख ११ हजार ४ सय ९८ जनाको हात खाली भएको छ । कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता सेयर माग भएको थियो । र, ८ सय १३ वटा आवेदन रद्द भएका छन् । कम्पनीले बिहीबार(असार २५ गते)बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणमा बिक्रीमा राखिएको थियाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने व्यवस्था रहेकाे थियाे । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी २५ वर्षमा प्रवेश
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ७३ वटै कार्यालयमा एकसाथ केककाटी वार्षिक उत्सव मनाएको छ । यही अवसरमा कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन् । २५ औं वार्षिकउत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखा मार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका विविध कार्यक्रमहरु आयोजना गरिने कम्पनिले जनाएको छ । कम्पनीकोे चुक्तापुंजी हाल रु. १ अरब १२ लाख २२ हजार पुगेको छ । आ.व. २०७६/०७७ को अषाढ मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु. २ अरब १९ करोड ४७ लाख ७६ हजार बीमाशुल्क संकलन गरेको छ । त्यसै गरी आ.व. २०७६/०७७ मा रु १ अरब २ करोड दाबी भुक्तानी गरिएको छ । कम्पनीबाट उपलब्ध हुने बीमा लेखहरुलाई क्रमश डिजिटलाईज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए ।
१५ प्रतिशत व्याजदर व्यवहारिक भएन, याे खर्चमा लघुवित्त चल्नै सक्दैनः अध्यक्ष लम्साल
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्तराज लम्सालले लघुवित्तले लिने व्याजदर अधिकतम १५ प्रतिशत कायम गरिएको नेपाल राष्ट्र बैंककाे व्यवस्था व्यवहारिक नभएको बताएका छन् । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८को मौद्रिक नीतिमा प्रतिकृया दिँदै उनले सो कुरा बताएका हुन् । यो व्यवस्थाले अहिलेको लागत खर्चमा लघुवित्तले धान्दैन र संस्था चल्न नसक्ने उनले बताए । ‘यो व्याजदरमा बेस रेट राखेर प्रिमियम कति भनेर तोकिएको भए ठिक हुन्थ्यो । तर यसमा १५ प्रतिशत व्याजदरको क्याप लगाइदिएकोले संस्थालाई अफ्ठ्यारो बनाएको छ ।’- उनले भने मौद्रिक नीति मार्फत यसलाई बेस रेटमा गणना विधि तय गरी व्याजदर निर्धारणलाई थप व्यवस्थित बनाइने भनिएको छ । पहिले राष्ट्र बैंकले बढीमा ९ प्रतिशतसम्म स्प्रेडदर तोकिदिएको थियो । पछिल्लो तीन महिना ग्राहकलाई १५ प्रतिशतमै ऋण दिएको बताउँदै विजय लघुवित्तको सीईओ समेत रहेका संघका अध्यक्ष लम्सालले भने- ‘जुन गत आवको पहिलाको ८ महिनाको कमाइले धानेको थियो र उक्त व्याजदरमा दिएका थियौं । र, पनि तीन महिनाको नाफा घटेको छ । अब चालु आवमा शुरुदेखि नै १५ प्रतिशत रहेपछि त संस्थाको नाफा शुरुदेखि नै नकारात्मक हुने भयो ।’ ‘यदि अहिलेको लागत खर्च घट्यो भने यो व्यवस्था ठिक हुन सक्छ । तर हामीले अहिले बैंकहरुबाट जति व्याज तिरेर पैसा ल्याउँछौं, त्यहि अवस्था रहने र १५ मा लगानी गर्ने हो भने शुरुदेखि नै लघुवित्तको वित्तीय विवरण नेगेटिभ आउँछ ।’ उनले भने- ‘बैंकहरुले लघुवित्तलाई ऋण दिँदा जति प्रिमियम लिएका छन् त्यसमा कम्तिमा २ प्रतिशतसम्म घट्यो भने चाहिँ संस्था चल्ने सक्ने छ ।’ लिन पाउने व्याज चाँहि घट्ने लागत चाहिँ जस्ता तस्तै हुने हो भने संस्था चल्दै नचल्ने उनले स्पष्ट पारेका छन् । ‘त्यस्तै, अन्य अरु सबै कुराहरु राम्रै छन् । धितो कर्जा सीमा ७ लाख रुपैयाँबाट बढाई १५ लाख रुपैयाँ कायम गरिएको छ, जुन हामीले मागेकै नै थियौं । सेवा शुल्क २ प्रतिशतबाट १.५ प्रतिशतमा झरेको छ, त्यसलाई सकारात्मक नै लिएका छौं ।’ ‘चालु आवको मौद्रिक नीति व्यवस्थित नै छ तर हाम्रो असन्तुष्टि मात्र यहि व्याजदरमा रहेको छ ।’- उनले भने । सम्बन्धित समाचारः लघुवित्तले १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने