महालक्ष्मी लाइफ इन्सुरेन्सको प्रिमियम अनलाइनबाटै तिर्न सकिने, यस्ताे छ प्रकृया ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफ का ग्राहकहरुले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बीमा प्रिमियम तिर्नका लागि सेल पे मा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ । कसरी तिर्ने ? यसका लागि सेल पेमा लगइन गरि बीमा अप्सनमा क्लिक गरि महालक्ष्मी लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राख्नु पर्ने हुन्छ । त्यस पश्चात आफ्नो बीमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन क्लिक गरी र आफ्नो बीमा प्रिमियम भुक्तानी गर्न सकिने छ । साथै, आफ्नो सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्त्री सेक्सोनबाट सजिलै हेर्न सकिने छ ।

बाढी पहिरोले तर्साउदै बीमा कम्पनीलाई, प्रमुख कार्यकारी अधिकृत भन्छन्- निन्द्रा लाग्नै छोड्यो

काठमाडौ । देशभर बाढी पहिरोको जोखीम बढी रहदा निर्जीवन बीमा कम्पनीहरुले मनसुन अभिषाप सावित भएको प्रतिक्रिया दिएका छन् । कोरोना महामारी (कोभिड-१९) का कारण उत्पन्न परिस्थितिसँग जुधिरहेका बीमा कम्पनीहरुले प्राकृतिक विपत्तिको कारण अर्काे प्रकारको चुनौति थपिएको बताएका हुन् । बाढी पहिरोको कारण बीमा कम्पनीहरुलाई दैनिक दाबी बढिरहेको छ । वर्षाको समयमा विगतका वर्षहरुमा पनि यस्तो प्रकारको दाबी पर्ने गरेको थियो । तर कम्पनीहरुले विगतका वर्षहरुमा आफूहरुलाई दाबी भुक्तानी गर्न खासै गाह्रो नभएपनि यसपाली भने कठिन भएको बताए । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काका अनुसार मनसुनमा परेका दाबीले बीमा कम्पनीहरुलाई अफ्ठयारो बनाएको छ । ‘हामीले विगतका वर्षमा पनि दाबी भुक्तानी त दिदै आएका थियौं, अहिले कोरोना महामारीको जोखिम र असर कायमै रहदा बाढी पहिरोले निर्जीवन बीमा क्षेत्रमा मनसुन अभिषाप बनेर आएको छ’, प्रमुख कार्यकारी अधिकृत खड्काले विकासन्यूजसँग भने । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार वर्षाको समयमा पानीले प्रत्यक्ष भेट्ने क्षेत्रहरुबाट पनि धेरै दाबी आउने गरेको छ । ‘हाम्रो कम्पनीमा पनि ८, १० वटा जति दाबी परिसकेको छ, वर्षाको समयमा बाटो, पुल तथा इन्जिनियरिङ्ग गरिएका ठाउँहरु खतरामा हुने भएकाले वर्षाको पत्यक्ष असर त्यस्ता ठाउँमा पर्ने गर्छ र बीमाा कम्पनी दाबी आउने गर्छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने । अहिले देशभर बाढी पहिरोकोे जोखिम बढ्दो छ । सोही बाढी, पहिरोकै कारण कैयौ जनताहरु चिन्तित हुने तथा रातभर जागै रहने गर्दै आएका छन् । ठिक यही समयमा यता एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले मंगलबार आफ्नो फेसबुक वालमा एउटा स्ट्याटस पोस्ट गरेका छन् । ‘नदीमा बाढी आउने पिरले रात भरी नसुत्न नदी किनारमा घर हुन पर्ने रहनेछ । इन्स्योरेन्समा जागिर खाए पुग्ने रहेछ,’ प्रमुख कार्यकारी अधिकृत गौतमले लेखेका छन् । यता नारायणी नदीको बहाब४४ वर्षकै उच्च भएको छ । सप्तोकोशीले नदीले पनि आफ्नो खतराको घेरा नाघिसकेको अवस्था छ । अहिले देशै भरका खोलानालामा पानीको सतहमा वृद्धी भएको छ । नेपाल नदीनालामा धनी राष्ट्र हो । वर्षभरी देशको परिचयका रुपमा स्थापित हुने जलस्रोतले वर्षाको सिजनामा भने अधिकांशलाई दुःख समेत दिने गरेको छ । मौसमविदहरु थप २,४ दिन देशको विभिन्न भुमागमा भारी वर्षा हुन सक्ने अनुमान गर्दै आएका छन् । बाढीको चिन्ता खोलाको किनारमा घर हुनेलाई मात्र नभई बीमा कम्पनीहरुलाईपनि परेको देखिन्छ । वर्षाको समयमा कन्ट्रयाक्टर अल रिस्क, सम्पत्ती, कृषि तथा बाली र मोटर बीमामा बढी दाबी पर्ने गर्छ ।

सबै जिल्लाका सहकारीलाई मर्ज गर्दै पशुपति सेभिङ एण्ड क्रेडिट

काठमाडौं । पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले सहकारी–सहकारी बीच बृहद एकीकरण अभियान संचालन गर्ने भएको छ । ७७ जिल्ला र ७५३ स्थानीय तहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहद एकीकरण अभियान संचालन गर्न लागेको हो । बृहद एकीकरणका लागि संचालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमीटी समेत निर्माण गरेको छ । यहि समितिमार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिएको छ । संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पुरा गर्नका लागि बृहद एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जानकारी दिए । “स–साना संस्था संचालन गरेर अब राज्यले सहकारी अभियानबाट राखेको अपेक्षा पुरा हुदैन” उनले भने, “त्यसका लागि एक÷दुई वटा संस्था एकीकरण गरेर पुग्दैन, वृहद एकीकरण गरी बलियो पुँजीगत आधार सहितको ठूलो नेटवर्क भएको संस्था बनाउन आवश्यक छ ।” अहिले सहकारी अभियानमा ३५ हजार संघसंस्था दर्ता भएपनि देशको अर्थतन्त्रमा सहकारीको योगदान न्यून छ । संस्थाहरु स–सानो हुँदा पुँजी छरिन गई सहकारीमार्फत अत्याधुनिक सेवा प्रदान गर्न र ठूला ठूला परियोजनाहरुमा लगानी समेत गर्न सकिएको छैन । यहि कारण पूँजीगत आधार बलियो भएको दिगो सहकारी संस्था निर्माण गरी त्यसमार्फत सदस्यलाई प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने र सहकारीमार्फत उत्पादनमुलक ठूला उद्योग तथा व्यवसाय संचालन गर्ने लक्ष्य रहेको संयोजक लामाले बताए । संघिय सरकारले आर्थिक वर्ष २०७७÷०७८ बजेट वक्तव्यमा पनि सहकारीसंस्थाहरुलाई एकीकरणका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसैगरी संघिय सहकारी विभागका साथै राष्ट्रिय सहकारी महासंघलगायतका संघसंस्थाले पनि सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेका छन् । बृहद एकिकरण अभियानमा सहकार्य, समन्वय र हातेमालो गर्नका लागि सम्पूर्ण सरोकारवालाहरुलाई संयोजक लामाले आग्रह गरे ।